अब कर्णालीले विकासको कोल्टो फेर्छ : मन्त्री राई


 


सुर्खेत २८ भदाै
शहरी विकासमन्त्री मोहम्मद ईश्तियाक राईले मुलुक सङ्घीय संरचनामा गइसकेकाले कर्णाली प्रदेशको विकासले अब कोल्टो फेर्ने बताएका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको नवःनिर्मित प्रदेश अस्पताल भवनको आज उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा उनले कर्णाली विगतकै अवस्थामा नरहने र यसको विकासमा शहरी विकास मन्त्रालयले प्राथमिकता दिने बताए । उनले भने, “स्वास्थ्य मन्त्रालयअन्तर्गत कर्णालीमा १५ शै्याका १६ अस्पताल निर्माणका लागि टेण्डर आह्वान हुँदैछ । यसले यहाँका नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित हुनेछ ।”

कूल लागत रु ५४ करोड ५५ लाख लागतमा सो अस्पताल भवनको निर्माण सम्पन्न भएको हो ।

कार्यक्रममा मन्त्री राईले विसं २०७३ माघ ११ गते सम्झौता भई तोकिएको समय भन्दा अगाडि नै भवनको निर्माण कार्य सम्पन्न गरेकोमा निर्माण कम्पनी आशीष एण्ड कन्टेक जेभी चितवन भरतपुरलाई धन्यवाद दिँदै सम्मानपत्र प्रदान गरे ।

विगतका दिनमा मध्यपहाडी लोकमार्गका नाममा हुलाकी शहर, तराई शहर र नयाँ शहर मात्र स्वीकृत भए पनि निर्माण प्रक्रिया अघि नबढेको र आफु मन्त्री भएपश्चात् कर्णाली प्रदेशअन्तर्गत पश्चिम रुकुमको चौरजहारी, दैलेखका राकम र सुर्खेतको भेरीगङ्गालाई नयाँ शहरका रुपमा विकास गर्ने प्रक्रिया अघि बढाएको उनले बताए ।

मन्त्री राईले सबै प्रदेशमा दुुई हजार नागरिक अड्ने सभाहल निर्माण गर्ने योजनालाई पनि शहरी विकास मन्त्रालयले अघि बढाएको जानकारी दिए।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई आग्रह गर्दै शहरी विकासमन्त्री राईले भन्नुभयो, “मुख्यमन्त्रीज्यू १ राकम, चौरजहारी र भेरीगंगाको निर्माण कार्य अघि बढिरहेको छ । त्यसलाई छोडेर यहाँका दुईवटा शहरको प्रस्ताव गर्नुहोस् । नयाँ शहर विकासका लागि सङ्घीय सरकार सहयोग गर्न तयार छ ।

मन्त्री राईले विराटनगर धरान, बुटवल, भैरहवा, रामनगर, नेपालगञ्ज जमुनाहा हुँदै वीरेन्द्रनगर सुर्खेतलाई सन् २०५० सम्ममा शहरी करिडरका रुपमा विकास गर्ने योजना बनाइएको जानकारी दिँदै हुम्लाको सिमकोट बजारलाई धार्मिक पर्यटकीय दृष्टिकोणले स्तरोन्नति गरेर संयुक्त रुपमा त्यसको उद्घाटन गर्नेगरी काम अघि बढाउन मुख्यमन्त्री शाहीलाई आग्रह गरे ।

उनले बढीभन्दा बढी अधिकार दिएर प्रदेशलाई बलियो बनाउनुपर्ने र सङ्घले स्थानीय तथा प्रदेश सरकारका गतिविधिहरु नियमन र अनुगमनगरी आवश्यक निर्देशन तथा सुझाव दिने तबरले अघि बढ्नु उपयुक्त हुनेमा जोड दिए ।

सो अवसरमा मुख्यमन्त्री शाहीले प्रदेश अस्पताल निर्माणले सामान्य बिरामी पर्दा नेपालगञ्ज र काठमाडाै धाउनुपर्ने कर्णालीवासीको समस्या अबबाट मुक्त हुने विश्वास व्यक्त गरे । “हामी कर्णालीको वीरेन्द्रनगरलाई स्मार्ट सिटीका रुपमा विकास गर्ने सोच बनाएको छौँ”, उनले भने, “वीरेन्द्रनगरको गुरुयोजना बनाएर विश्वको पर्यटकीय नमूना शहर र सुन्दर प्रदेश बनाउन सरकार अहोरात्र खटेर लाग्छ ।”

सामाजिक विकासमन्त्री दल रावले प्रदेश अस्पताल कर्णालीको गौरवको आयोजना भएको बताए। ३०० शै्याको अस्पतालका लागि प्रदेश सरकारले ३२५ कर्मचारीको व्यवस्था गरिसकेको उल्लेख गर्दै मन्त्री रावलले भने, “अझ पनि विशेषज्ञ जनशक्तिको आवश्यक छ । तिनको व्यवस्थापन र आवश्यक उपकरण जुटाउन हामी लागि परेका छौँ ।”

प्रदेश अस्पतालको उपकरण खरीदका लागि रु ४० करोडको टेण्डर गरिएको र सो प्रक्रिया अघि बढेकोसमेत उनले जानकारी दिए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा डम्बर खड्काले भौतिक संरचना निर्माण भए पनि आवश्यक जनशक्ति र उपकरणको अभाव रहेको बताउँदै स्थानीय, प्रदेश र सङ्घीय सरकारको समन्वय तथा सहकार्यमा कर्णाली प्रदेश अस्पताललाई सुविधा सम्पन्न बनाउने कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति: २८ भाद्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्