कास्कीका सबै वडामा पार्टी कमिटी गठन


 


काठमांडाै २८ भदाै
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कास्कीका ७२ वडामा पार्टी कमिटी गठन गरेको छ । महानगरको ३३ र चार गाउँपालिकाका ३९ वडामा एकता प्रक्रिया सकिएपछि शपथ कार्य शुरु गरिएको केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज राजकाजी गुरुङले बताए ।

महानगरका वडामा शपथ गराउने कार्यक्रम केहीमा सकिएको र दुई\तीन दिनभित्रमा ३३ वटैमा सकिएर गाउँपालिकामा शपथ शुरु गरिने जनाइएको छ । पार्टीको १० सदस्यीय जिल्ला कार्यालय सदस्यको टिमले वडा विभाजन गरेर शपथ गराएको हो । गत असारमा वडाका अध्यक्ष र सचिव चयन गरेको दुई महीनापछि कमिटीमा रहने सदस्य चठयन गरिएको हो ।

नेकपाले ४५ सदस्यीय महानगर वडा कमिटीमा पूर्व एमालेबाट २६ र माओवादी केन्द्रबाट १९ तथा गाउँपालिकाको २९ सदस्यीय कमिटीमा पूर्व एमालेबाट १७ र माओवादीबाट १२ रहने गरी गठन गरेको छ । वडामा कमिटी चयन भएपनि महानगरसहित चार गाउँपालिकाका अध्यक्ष र सचिव भने अझै टुङ्गिन सकेको छैन ।

महानगर कमिटीको अध्यक्षको जिम्मेवारी पार्टी केन्द्रको सचिवालयले टुङ्गो लगाउने भएकाले नेतृत्व चयन हुन बाँकी रहेको जिल्ला इञ्चार्ज गुरुङले बताए । वडाका इञ्चार्ज र सहइञ्चार्ज भने प्रदेश कमिटीले तोक्ने बताइन्छ ।

महानगर कमिटीको नेतृत्व पाउनेले एउटा गाउँपालिका लिनुपर्ने पूर्व माओवादीले बताउँदै आएको छ भने पूर्व एमालेले महानगर जसको भागमा परेपनि गाउँपालिका दुई\दुई गरिनुपर्ने माग गरेको छ ।

नेकपाले वडा कमिटी चयनसँगै आगामी मङ्सिर १४ गते क्षेत्र नं २ मा हुने उपनिर्वाचनको तयारी शुरु गर्ने भएको छ । सरकारले गरेका कामको जनस्तरमा लैजाँदै उपनिर्वाचनमा होमिने बताउँदै इञ्चार्ज गुरुङले भने, “पार्टीको तल्ला कमिटी गठनसँगै उपनिर्वाचनमा होमिन्छौँ । हाम्रो पार्टीको नेतृत्वमा रहेका तीनै तहका सरकारका काम जनतामाझ लगेर मत माग्छौँ ।”

प्रकाशित मिति: २८ भाद्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्