राष्ट्रपतिलाई रोक्न खोजेको आरोपमा पूर्वडिआइजी र सेनाका मेजरसहित दर्जनौ पक्राउ


 


काठमाडौं, भदौ २७

इन्द्रजात्रामा राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा प्रदर्शन गरेर उनलाई रोक्ने तगा बद्नाम गर्न खोजेको आरोपमा काठमाडौं प्रहरीले पूर्वडिआइजी र पूर्वमेजरसहित १५ जनालाई पक्राउ गरेको छ। साथै बसन्तपुर क्षेत्रबाट २ सय ४८ थान कालो टिर्सट र ब्यानर समेत बरामद गरेको छ।

राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको ब्यानरमा प्रदर्शन गर्ने तयारीमा रहेको व्यक्तिहरु पक्राउ परेको काठमाडौं प्रहरीले जनाएको छ।

उनीहरु इन्द्रजात्राको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी बसन्तपुरमा आउँदा विरोध प्रदर्शन गर्ने तयारीमा थिए। त्यसैक्रममा प्रहरीले पूर्व डिआइजी विजयराज भट्ट र सेनाका पूर्वमेजरसहित दर्जन बढीलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले उच्छ्रृंखल गतिविधिमा संग्लन भएको आरोपमा केहीलाई नियन्त्रणमा लिएको बताए। उनका अनुसार नियन्त्रणमा लिएकाहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ। उनीहरु शुक्रबार अपराहन्न पक्राउ परेका हुन्।

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी अपराह्न बसन्तपुर जाने कार्यक्रम छ। तर गुठी विधेयकको विषयलाई लिएर विरोध प्रदर्शन हुने सक्ने आशंकामा सुरक्षा व्यवस्था कडा पारिएको छ। त्यही क्रममा धरपकड भएको अनुमान छ।

गुठी विधेयकमा राष्ट्रपतिले विधेयक विरोधी आन्दोलनका अभियन्ताहरुको मागप्रति उदासिनता देखाएकोमा उनको कार्यक्रमलाई बहिष्कार गर्नु पर्ने धारणा समूह भित्र केहीले राखेको जानकारी प्रहरीलाई प्राप्त भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ।

यसैबीच कडा सुरक्षाका बीच राष्ट्रपति विद्यादेवी भण्डारी इन्द्रजात्रा हेर्न बसन्तपुर पुगेकी छिन्।

प्रकाशित मिति: २७ भाद्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्