अंगीकृत नागरिकका लागि भारतको भन्दा कडा कानुन ल्याउँदै ओली सरकार, बाधक बन्यो कांग्रेस !


 


काठमाडौं, भदौ २७

सरकारले अंगीकृत नागरिकका लागि कडा कानुन ल्याउने तयारी थालेको छ। कानुनको मस्यौदा अहिले संसदीय समितिमा छलफलको क्रममा रहेको छ। तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भने अंगीकृतले सजिलै नागरिकता पाउनुपर्ने पक्षमा छ। कांग्रेस अन्तरिम संविधान २०६३ अनुसार नै अघि बढ्नुपर्ने पक्षमा छ। जबकी अन्तरिम संविधानको व्यवस्थाकै कारण धेरै अंगीकृतले सजिलै धमाधम नेपाली नागरिक पाएका थिए। जसमा फर्जी नागरिकता धेरै छन्।

तर, संसदको राज्य व्यवस्था तथा सुशासन समितिसँग मिलेर सरकारले बनाएको मस्यौदा अनुसार अब विदेशी बुहारीलाई बिहेको सात वर्षपछि मात्र वैवाहित अंगीकृत नागरिकता दिने प्रस्ताव गरिएको छ। त्यसैगरी विदेशी ज्वाइँलाई १५ वर्षपछि मात्रै नागरिकता दिने प्रावधान राखिएको छ। विदेशी ज्वाइँलाई नागरिकता दिने कुरा नेपालको इतिहासमा पहिलो पटक आएको हो।

प्रस्तावअनुसार नेपाली पुरुषसँग विवाह गर्ने महिलालाई नागरिकता पाउनुअघि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी वैवाहिक नेपाली परिचयपत्र भने दिइने व्यवस्था ल्याउन लागिएको छ।

प्रस्ताव हेर्दा सुरुमा वैवाहिक नेपाली परिचयपत्र पाउनेछन् र बिहे गरेको सात वर्षपछि मात्र वैवाहित अंगीकृत नागरिकता पाउने छन्।

सरकारले ल्याएको नागरिकतासम्बन्धी विधेयकमा पनि यही व्यवस्था छ। साथै नेपाली नागरिकता लिएको ६ महिनाभित्र अन्य देशको नागरिकता त्याग्नुपर्ने व्यवस्था पनि छ।
सत्तारुढ नेकपा नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई सात वर्षपछि अंगीकृत नागरिकता दिनुपर्ने पक्षमा उभिएको छ। तर, नेपाली कांग्रेसले भने अन्तरिम संविधान २०६३ अनुसार नै हुनुपर्ने पक्षमा छ।

तर, संसदमा नेकपाको बहुमत भएकाले कांग्रेसले भनेजस्तो नभई अंगीकृतविरुद्ध कडा कानुन संसदबाट पास भएर आउने कुरा निश्चित छ।

विधेयक पास भएर आए पहिलोपटक कानूनमै विदेशी ज्वाइँलाई पनि नेपाली नागरिकता दिने प्रावधान उल्लेख हुनेछ। हाल विदेशी ज्वाइँलाई नागरिकता दिने व्यवस्था छैन। १५ वर्षसम्म नेपालमा स्थायी बसोबास गरेका ज्वाइँहरुले बसोबासका आधारमा नागरिकता पाउन सक्ने छन् ।

प्रकाशित मिति: २७ भाद्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्