देउवा र उपसभापति गच्छदार सुनसरीमा, १५ दिनसम्म विभिन्न कार्यक्रम हुने


 


काठमांडाै २५ भदाै
नेपाली कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान मंगलबारदेखि सुरू गरेको छ।
वीपी कोइरालाको १०६ औं जन्मजयन्तीको अवसर पारेर कांग्रेस मंगलबार देशका तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा १०६ वटाका दरले वृक्षरोपण गर्दै जागरण अभियानको सुरूआत गरेको हो।

जागरण अभियानका लागि कांग्रेसले सबै प्रदेशसभा क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाएको छ। शीर्ष नेताहरूले विभिन्न जिल्लामा रहेका प्रदेशसभा क्षेत्रमा हुने कार्यक्रमको उद्घाटन गर्दैछन्।

सभापति शेरबहादुर देउवा र उपसभापति विजयकुमार गच्छदार सुनसरीमा हुने कार्यक्रममा सहभागी भएका थिए।

वरिष्ठ नेता रामचन्द्र पौडेल पोखरा, उपसभापति विमलेन्द्र निधि धनुषा, महामन्त्री शशांक कोइराला मकवानपुर, अर्का महामन्त्री पूर्णबहादुर खड्का भक्तपुर, कोषाध्यक्ष सीतादेवी यादव काठमाडौंमा आयोजना हुने कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार प्रदेशसभा क्षेत्रमा १५ दिनसम्म विभिन्न कार्यक्रम हुनेछ।

कांग्रेसले यो पटक युवा केन्द्रित रहेर जागरण अभियान गर्ने र एक लाख जना युवासँग साक्षात्कार गर्ने जनाएको छ। एकदिन मात्रै प्रदर्शन र विरोधका कार्यक्रम तय गरिएको छ।

असोज ७ गते ७७ जिल्ला सदरमुकाममा विरोधसभा गर्ने कांग्रेसको तयारी छ।

कांग्रेसले वैशाख २५ देखि जेठ २५ सम्म पहिलो चरणमा जागरण अभियान गरेको थियो।

संघीय विधान अनुसार प्रदेशसभा र संघीय निर्वाचन क्षेत्रमा कार्यसमिति गठन गरेको कांग्रेसले पार्टी गतिविधिलाई थप सशक्त बनाउने बताएको छ।

प्रकाशित मिति: २५ भाद्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्