देउवा भेट्दा विपिलाई सम्झिए चिनियाँ विदेशमन्त्रीले


 


काठमाडौं, भदौ २४

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा भ्रमणमा रहेका उत्तरी छिमेकी चीनका विदेशमन्त्री वाङ यीबीच भेटवार्ता गरेका छन् ।

नक्सालस्थित होटल मेरिनामा मंगलबार विहान भएको भेटमा नेपाल र चीनको द्विपक्षीय सम्बन्ध, नेपालमा सञ्चालित चिनियाँ परियोजना, बिआरआईबारे छलफल भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

साथै नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वं विपि कोइरालाबारे पनि भेटमा छलफल भएको थियो । विदेशमन्त्री वाङले विपिले प्रधानमन्त्री हुँदा चीनसँग मैत्री सन्धी गरेको स्मरण गर्दै उनको जन्मजयन्तीका अवसरमा शुभकामना समेत दिए। मैत्री सन्धिमा नेपालले एक चीन नीतिको समर्थन गरेको छ । आज विपिको १०६ औं जन्मजयन्ती हो । यसैअवसरमा कांग्रेसले दोस्रो चरणको हिमाल पहाड तराईमधेस जागरण अभियान सञ्चालन गर्दै छ ।

आइतबार काठमाडौं आएका चिनियाँ विदेशमन्त्रीले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्डसँग भेट गरिसकेका छन् । साथै नेपाली समकक्षी प्रदीप ज्ञवालीसँग द्विपक्षीय वार्ता गरेर केही सम्झौता गरेका छन् । वाङले भक्तपुर पनि अवलोकन गरेका छन् । उनी आजै स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति: २४ भाद्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्