हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’ बाट अलग्गिएको टिमले नयाँ टेलिश्रृंखला निर्माण गर्दै
काठमांडाै २४ भदाै
नेपाल टेलिभिजनबाट प्रशारण हुने हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’ बाट अलग्गिएको टिमले नयाँ टेलिश्रृंखला निर्माण गर्ने भएको छ । आउँदो २ असोजबाट नेपाल टेलिभिजनमै प्रशारण सुरु हुने भनिएको टेलिश्रृंखलाको नाम भने सार्वजनिक गरिएको छैन ।
भद्रगोलका पूर्व निर्देशकहरु कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेको समूहले आफ्नै लगानीमा नयाँ टेलिश्रृंखला निर्माण गर्न लागेको हो । उनीहरुले स्थापना गरेको कम्पनी जेपिटी क्रियसनमार्फत यसको निर्माण हुने छ । लेखन तथा निर्देशन जिग्री र पाँडेकै रहने छ । उनीहरूसँगको कुराकानीमा घिमिरेले एक दुई दिनमा पत्रकार सम्मेलन गरेर नाम सार्वजनिक गर्ने बताए ।
‘हाम्रो सबै तयारी पूरा भइसकेको छ, भद्रगोलकै पात्रहरु र कथावस्तुमा आधारित भएर टेलिश्रृंखला निर्माण गर्दैछौं,’ उनले भने । उनले नेपाल टेलिभिजनसँग प्रत्येक विहीबारको समय आफूहरुले खरिद गरिसकेको जानकारी दिए ।
भद्रगोलको ट्रेडमार्क भने मिडिया हबसित छ । उसले पुरानै भद्रगोलको प्रशारणलाई पुनः निरन्तरता दिइसकेको अवस्थामा त्यसकै प्रमुख पात्रहरु अर्को सिरियलमा बसाइ सर्न लागेका हुन् । यसरी एउटै ‘थिम’ मा दुई सिरियल प्रशारण हुने भएका छन् ।
यस सम्वन्धमा घिमिरेे भन्छन्, ‘उहाँहरु र हामीले अलगअलग कथा लेख्ने भएकाले जुध्ने भन्ने प्रश्नै आउँदैन ।’ उनले सिरियलको नाममा कपिराइट लागे पनि पात्रहरुमा भने नलाग्ने दावी गरे ।
‘भद्रगोलका सबै पात्रहरु हामीले नै जन्माएका हौं । यदि पात्रहरुमा पनि कपिराइट लाग्ने हो भने त धुर्मुस, माग्नेबुढा, तक्मेबुढा, मुन्द्रलगायत कसैले पनि आफूले जन्माएको चरित्रलाई निरन्तरता दिन सक्ने थिएनन्,’ उनले भने ।
साथै भद्रगोलको नयाँ एपिसोडमा आफूहरुले बनाएको पुरानो एपिसोडको क्लिपहरु जोडिएकोमा पनि घिमिरेले आपत्ति जनाए । उनले भने, ‘उहाँहरुले पुरानोकै निरन्तरता हो भन्ने भान पार्न खोज्नुभएको होला । तर, दर्शक झुक्किनेवाला छैनन् ।’
प्रकाशित मिति: २४ भाद्र २०७६, मंगलबार