विदेशमन्त्रीले बालुवाटारमा प्रम ओलीलाई सुनाए चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश


 


काठमाडौं, भदौ २३

तीनदिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओली भेट्न सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेका विदेशमन्त्री वाङले चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री लि खयाछीको सन्देश सुनाए । खासमा विदेशमन्त्रीले आफ्ना राष्ट्रपति र प्रधानमन्त्रीले हालै सिंगापुरमा दुईसाता लामो उपचार गरेर फर्किएका प्रधानमन्त्री ओलीलाई पठाएको स्वास्थ्यलाभको शुभकामना सन्देश सुनाएका हुन । दुबैले सुस्वास्थ्यका लागि शुभकामना सन्देश पठाएका थिए ।

विदेशमन्त्री वाङले सुनाएको शुभकामनाका लागि ओलीले चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई औपचारिक रुपमा धन्यवाद सन्देश पठाएका छन् ।

विदेशमन्त्री वाङले सुनाएको दोस्रो सन्देश हो राष्ट्रपतिको भ्रमण उपयुक्त समयमा हुने । नेपाली समकक्षीको जिज्ञासाको जवाफमा चिनियाँ विदेशमन्त्री वाङले नेपालको चाहनालाई गम्भीरतापूर्वक लिएको र दुबै देशका कूटनीतिक निकायहरु सम्पर्कमा रहेर भ्रमणको बन्दोवस्त मिलाउने बताए ।

सरकारी अधिकारीका अनुसार राष्ट्रपति सीको नेपाल भ्रमण असोज अन्तिम वा कात्तिक पहिलो सातासम्म हुन सक्छ । यसै वर्ष जनवादी चीनमा तिब्बतको पुनर्गठन भएको ६० औं वर्षगाँठका अवसरमा राष्ट्रपति सी सिगात्से आउँदैछन् । त्यहीबेला नेपाल आउन सक्छन् । अर्काेतर्फ दशैं तिहारको बीचमा पनि भ्रमण हुनसक्ने भनिएको छ । दशैंको बीचमा सी भारत भ्रमणमा जाने र त्यहीँ बेला पनि आउनसक्ने चर्चा छ । तर चिनियाँ विदेशमन्त्रीको स्पष्ट सन्देश भने उपयुक्त समयमा भन्ने छ । ठ्याक्कै मिति भने खुलाएनन् ।

तेस्रो सन्देश भनेको नेपालमा रेल ल्याएरै छाड्छौं भन्ने हो । विदेशमन्त्री वाङले नेपालको प्राथमिकताबारे आफू जानकार रहेको र प्राविधिक रुपमा कठिन भएको, तर रेल ल्याउन आफूहरु प्रतिवद्ध रहेको स्पष्ट पारे । काठमाडौं केरुङ रेलवेको डीपीआर सम्झौता चिनियाँ राष्ट्रपतिको भ्रमणका बेला हुनसक्ने उनको संकेत थियो ।

प्रकाशित मिति: २३ भाद्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्