प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता, चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे छलफल


 


काठमाडौं, भदौ २३

तीनदिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा द्विपक्षीय सम्बन्ध, सहयोग र चीनले अघि सारेको बिआरआइ परियोजनाबारे छलफल भएको छ।

त्यसैगरी चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न नेपाल भ्रमणको तयारीबारे समेत छलफल भएको बुझिएको छ। प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न आफूहरु आतुर रहेको र सबै तयारी भइरहेको भन्दै विदेशमन्त्री यीलाई जानकारी गराएका थिए।

जवाफमा विदेशमन्त्री यीले राष्ट्रपतिले निकट भविष्यमै नेपालको भ्रमण गर्ने स्पष्ट पारेका थिए। उनले भ्रमणको स्पष्ट मिति भने बताएनन्। सरकारी अधिकारीहरुका अनुसार चिनियाँ राष्ट्रपति दशैं तिहारको बीचमा नेपाल आउने तयारी छ।

विदेशमन्त्री यीले आजै राष्ट्रपति विद्या भण्डारीसँग शीतल निवासमा भेट गर्ने कार्यक्रम छ। साँझ उनको सम्मानमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रात्रीभोजको आयोजना गर्ने छन्।

प्रकाशित मिति: २३ भाद्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्