खुसीकाे खबर, बिजुलीबाट चल्ने बस सोमबारदेखि संचालनमा


 


काठमाण्डौ – २२ भदाै

सोमबारदेखि काठमाण्डौमा बिजुलीबाट चल्ने बस गुड्ने भएको छ । निजी क्षेत्रको सुन्दर यातायातले शुरुमा चारवटा बस सञ्चालनमा ल्याउने तयारी गरेको छ । सोमबार दिउँसो भृकुटीमण्डपमा रहेको नेपाल पुलिस क्लबमा बिजुली बसको उद्घाटन हुने सुन्दर यातायातले जनाएको छ ।

अघिल्लो हप्ता सुन्दर यातायातले काठमाण्डौको भत्केको पुलमा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको थियो । चार्जिङ स्टेशन सञ्चालनमा आएसँगै काठमाण्डौको सडकमा पहिलो पटक निजी क्षेत्रको बिजुली बस गुड्ने भएको हो ।

पछिल्लो सिटमा आकर्षण

सुन्दर यातातातका अनुसार बस ४० सिटे र ३५ सिटे गरी दुई प्रकारको छ । ४० सिटे बसमा अरु ३० जना यात्रुले र ३५ सिटे बसमा अरु २५ जना यात्रुले उभिएर आरामका साथ यात्रा गर्न सक्ने सुन्दर यातायात सञ्चालक समितिका सदस्य सुरेश पोखरेलले बताउनु भयो ।

अरु बसको तुलनामा यो बसमा सिटको व्यवस्थापन फरक तरिकाले गरिएको छ । बसमा अगाडि मात्र बस्न र उभिन खोज्ने यात्रुलाई ध्यान दिंदै पछाडिको सिट आकर्षक बनाइएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार पछाडिको सिट सिनेमा हलको बाल्कोनीजस्तै हुनेछ ।  यसले गर्दा सिटमा बस्न खोज्नेहरु पछाडि जाने र गाडीभित्रको चापलाई व्यवस्थित गर्न सकिने कम्पनीले जनाएको छ । बसको अगाडि भागमा आरक्षित सिटहरु रहेको हुनाले भिड पनि कम हुने सदस्य पोखरेलले भन्नुभयो । ‘यो बसको आकर्षण भनेको नै यात्रुलाई पछाडि भागमा राखेर यात्रु चढ्न र ओर्लनका लागि सजिलो बनाउनु हो’ उहाँले भन्नुभयो ।

बसका अरु सुविधा

बसमा आरक्षण सिट पनि सहजै पहिचान गर्न सकिन्छ । त्यस्ता सिटहरु यात्रुको चाप नहुने भागमा राखिएको छ । सीसी क्यामेराको प्रशस्त प्रयोग, जीपीएस ट्रयाकिङ, एयरकण्डिसनको सुविधाले झन् बसलाई अझ यात्रुमैत्री बनाउने सुन्दर यातायातले जनाएको छ ।

त्यस्तै उभिएका यात्रुलाई सहजरुपमा समात्नको लागि प्रयोग गरिएको ह्याङ्गर नरम र लचकदार हुँदा जुनसुकै उमेरका र उचाइका यात्रुलाई यात्रा गर्दा थप सहज हुने कम्पनीको दाबी छ । साथै कम्पनीले फोहोर व्यवस्थापनका लागि बसको सिटसँगै डस्टबिनको पनि व्यवस्था गरेको छ ।

कम्पनीका अनुसार भाडा तिर्नका लागि यात्रुले अत्याधुनिक प्रविधिको कार्ड र ई–पेमेन्टलाई अपनाउन सक्नेछन् । यात्रुहरुले मोवाइलबाट ‘क्यूआर कोड’ स्क्यान गरेर पनि रकम भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

यस्तो छ रुट–

बिजुली बस रिङरोड, नारायणस्थान हुँदै चक्रपथ, भैंसेपाटी, गोंगबु बसपार्कहुँदै सल्लाघारी भक्तपुर, कलंकी ढुंगेअड्डा हुँदै नेपाल मेडिकल कलेजसम्म विद्युतीय बस सञ्चालनमा ल्याइने छ।

सुन्दर यातायातका विद्युतीय बस पहिलो चरणमा काठमाण्डौका ५ रुटमा गुड्ने छन् । पहिलो रुटमा बसहरुले चक्रपथ परिक्रमा गर्नेछन् । दोस्रो रुटमा नारायणथान, जावलाखेल–मेडिसिटी अस्पताल पुग्नेछन् ।

साथै तेस्रो रुटमा गोगंवु–सामाखुसी–गौशला–कोटेश्वर हुँदै सल्लाघारीसम्म पुग्नेछन् । चौथो रुट अन्तर्गत ढुंगेअड्डा–कलंकी–त्रीपुरेश्वर–वीर अस्पताल–जमल–कृष्णपाउरोटी–रातोपुल–गौशला–चावहिल–बौद्ध–जोरपाटीस्थित अत्तरखेलसम्म पुग्नेछन् ।

त्यसैगरी अन्तिम रुट सूर्यविनायक–कोटेश्वर–बानेश्वर–वीरअस्पताल र जमल रहेको छ ।

विद्युतीय बसको संख्या बढाउँदै लगेपछि सोही अनुसार रुट कायम गरिने सुन्दर यातायात सञ्चालन समितिले जनाएको छ।

प्रकाशित मिति: २२ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्