प्रधानमन्त्री ओली र गौतमबीच निकटता बढ्दै


 


काठमाडौं, २१ भदौ ।
प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली र केन्द्रीय सचिवालयका प्रभाशाली सदस्य बामदेव गौतमबीच निकटता बढ्दै गएको छ ।

एक महिना अगाडिसम्म तनावपूर्ण रहेको ओली–गौतमको सम्बन्ध सुध्रिएर नेकपाभित्र हलचल ल्याइदिएको छ । प्रधानमन्त्री ओलीले गौतमलाई सिंगापुरबाट फोन गरेर आफूलाई भेट्न बोलाएपछि उनीहरूको सम्बन्धको चर्चा भएको हो ।

नेकपाका धेरै नेताहरूले ओली–गौतमको सम्बन्ध बिग्रिएकाले अब मिल्न सक्दैनन् भन्ने धेरैको विश्लेषण थियो ।

तर, गौतम अहिले ओलीकै दाहिने हात जस्तै बन्न पुगेका छन् । उपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीले गौतमलाई टेलिफोनबाटै निम्त्याएर शुक्रबार उनीसँगै स्वदेश फर्किएर सबैलाई चकित तुल्याइदिएका छन् ।

अघिल्लोपटक ओली उपचारपछि स्वदेश फर्कंदा गौतम पुष्पगुच्छा लिएर स्वागतका लागि विमानस्थल पुगेका थिए ।

नेता गौतमलाई खुसी पार्न ओलीले विधानमै नभएको उपाध्यक्ष पदको बक्सिस दिएको चर्चा नेकपाभित्र छ ।

अध्यक्ष ओलीकै प्रस्तावमा स्थायी समितिले अनुमोदन गरेपछि गौतम नेकपाको उपाध्यक्ष बन्नेछन् । ओली एकाएक नेकपाको शक्तिमा पुगेका छन् ।

पार्टीका कार्यकर्ता संरक्षणमा गौतम अब्बल मानिन्छन् । गौतमको निवास भैँसेपाटीमा प्रत्येक दिन बिहान कार्यकर्ताको भिड नै लाग्ने गर्छ । उनले कार्यकर्ताका हरेक कुरालाई सकेसम्म सिधै सम्बोधन गर्न रुचाउँछन् ।

प्रधानमन्त्री एवम् अध्यक्ष ओलीसँगको सम्बन्धबारे एक प्रसंगमा नेता गौतमले भनेका थिए, ‘केपी ओली कस्तो मान्छे हो भन्ने कुरा बाहिर भनेर जान्नेभन्दा पनि म आफैंले जानेको व्यक्ति हो । दुःखको बेलाको साथी १ दुःखका बेलाको सम्बन्ध अरू कसैले तोड्न सक्दैन । केपीसँग त मेरो सम्बन्ध त्यही दुःखका बेलाको दोस्ताना हो ।’

पार्टीभित्र गौतम शक्तिमा पुगेपछि विरोधीहरूले ओली–गौतमको सम्बन्धको आलोचना समेत गर्न भ्याएका छन् ।

प्रकाशित मिति: २१ भाद्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्