अमेरिकामा अपराध गरेर लुक्न नेपाल आएका एक अमेरिकी नागरिक पक्राउ


 


काठमांडाै २१ भदाै

अमेरिकामा अपराध गरेर लुक्न नेपाल आएका एक अमेरिकी नागरिक पक्राउ परेका छन् । बाल यौन दुराचार मुद्दामा फरार नाथन माकोब्स्कीलाई बुधबार प्रहरीको विशेष ब्युरोले काठमाडौंमा पक्राउ गरेको हो ।

चीन हुँदै नेपाल आएका ५९ वर्षीय नाथनका नाममा अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)ले समेत रेड नोटिस जारी गरेको थियो । अध्यागमन विभागले उनलाई थुनामा राखी अमेरिका निष्कासनको प्रक्रिया अघि बढाएको छ । उनी अमेरिकामा ‘मोस्ट वान्टेड’को सूचीमा थिए । स्रोतका अनुसार उनी नेपाल आएको सूचना काठमाडौंस्थित अमेरिकी दूतावासले दिएको थियो । उनलाई प्रक्रिया पूरा गरी अमेरिका निष्कासन गरिने अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए ।

गत २८ अगस्टमा इन्टरपोलले उनीविरुद्ध ‘रेड नोटिस’ जारी गरेको थियो । अलास्का राज्यका बासिन्दा उनले आफ्नै प्रेमिकाकी छोरीमाथि बाल यौन दुराचार गरेको मुद्दा उनीमाथि चलिरहेको छ । एक वर्षसम्म बालिकामाथि यौन दुराचार गरेको भन्दै मुद्दा दायर गरिएको भएपछि उनी त्यहाँबाट भागेका थिए । यस्तो अपराधमा अमेरिकामा ९९ वर्ष कैद सजाय हुने कानुनी प्रावधान छ ।

यसरी पक्राउ परेका अपराधी बुझाउन नेपाल र अमेरिकाबीच सुपुर्दगी सन्धि छैन । जसकारण निष्कासनको प्रक्रियामार्फत नेपालले उनलाई अमेरिका पठाउनेछ । अमेरिका पुगेलगत्तै उनी विमानस्थलमै पक्राउ पर्नेछन् ।

गत जुलाईमा उनी अमेरिकाबाट भागेर बेइजिङ पुगेका थिए । त्यहाँबाट नेपाल आएको खुलेपछि पक्राउ गर्न इन्टरपोलमार्फत रेड नोटिस जारी गराइएको थियो । इन्टरपोलसँगको सहकार्यमा उनी पक्राउ परेका हुन् ।

पाँच वर्षअघि पनि पक्राउ परेका थिए अमेरिकी अपराधी
अमेरिकामा फरार व्यक्ति लुक्नलाई नेपाल आएको यो पहिलो घटना भने होइन । पाँच वर्षअघि पनि नेपालमा लुक्दै आएका निल स्टेमर नामक अमेरिकी नागरिकलाई प्रहरीले पोखराबाट पक्राउ गरी अमेरिका पठाएको थियो । उनी नक्कली पासपोर्ट लिएर नेपाल आएका थिए । नेपालमा लुक्न उनले नेपाली युवतीसँग बिहे गरेका थिए ।

नेपालमा विदेशीमाथि नियमन प्रणाली कमजोर भएकाले पर्यटकको आवरणमा विदेशमा अपराध गरेर लुक्न आउने गरेका छन् । लामो समय बस्ने विदेशीहरू के गरेर बसेका छन् भन्ने निगरानी नहुने मात्र होइन, क–कसको भिसाको म्याद सकियो भनेर खोज्ने प्रणालीसमेत विकास हुन सकेको छैन । जसकारण ठूलो संख्यामा विदेशीहरू नेपालमा अवैध रूपमा बस्दै आएको आकलन गरिएको छ । त्यस्ता विदेशीलाई निगरानीका लागि सरकारले गत वर्ष मात्र ‘विदेशी नागरिक अनुमगन निर्देशिका’ बनाएको थियो । जुन प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन ।

निर्देशका कार्यान्वयनलाई प्रभावकारी बनाउने काम भइरहेको बताउँछन्, विभागका महानिर्देशक पौडेल । ‘अध्यागमन व्यापक सुधारको पूर्वसन्ध्यामा छ,’ उनले भने, ‘अबको दुई महिनापछि अध्यागमनमा धेरै सुधार देख्नुहुनेछ । विदेशीहरू अवैध रूपमा नेपालमा लुकेर बस्ने समस्या पनि अब हट्छ ।’

प्रकाशित मिति: २१ भाद्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्