कारवाहीकाे धम्कीले सार्वजनिक मञ्चमै देउवा र पौडलबीच बाझाबाझ, विमलेन्द्र, शशांक र सिटौलालाई आपत् !


 


काठमाडौं, भदौ २०

भक्तपुरको बोडेमा शुक्रबारदेखि शुरु भएको दुईदिने प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका शीर्ष नेताबीच आरोप प्रत्यारोप चलेको छ। काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना र काङ्ग्रेस भक्तपुर जिल्ला समितिको संयोजनमा भएको सो कार्यक्रममा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच आरोप प्रत्यारोप चलेको हो।

सभापति देउवाले निर्वाचनमा पार्टीमा अन्तर्घात गर्नेलाई कुनै पनि हालतमा कारवाही गरिने बताए। “पार्टीमा अन्तर्घात गर्नेलाई कारवाही हुन्छ, कारवाही गर्न कसले रोक्छ हेर्छु म? चुनावमा पार्टीलाई हराउनेलाई कारवाही गर्न नपाउने? कारवाही हुन्छ, हुन्छ ।” उनले निर्वाचनमा हराउनेप्रति आक्रोश पोख्दै भने, “चुनावमा पार्टी किन हार्यो?, साँच्चिकै पार्टी भित्र एकता भएर हारेको हो?, टिकट पाइन भनेर एकले अर्कोलाई हराउन खोजेर हारेको हो।” सभापति देउवाले पार्टी एक हुनु जरुरी रहेको र आउँदो उपचुुनावमा काङ्ग्रेसले जित्नुपर्ने र जितको शुरुआत भक्तपुरबाटै हुनुपर्ने बताए।

स्वतन्त्ररुपमा लेख्न र बोल्न नपाउने देशमा लोकतन्त्र फस्टाउन नसक्ने टिप्पणी गर्दै सभापति देउवाले प्रजातन्त्रका लागि काङ्ग्रेसले २००७ सालदेखि लड्दै आएको प्रष्ट पारे। “रामचन्द्रजी, अहिले पनि सरकारको गलत कामकाविरुद्ध हामी लडिरहेका छौँ, संसददेखि सडकसम्म आवाज उठाएका छौँ”, उनले भने । सरकारले एकदलीय सर्वसत्तावाद लाद्न खोजेको देउवाको आरोप थियो।

वरिष्ठ नेता पौडेलले सरकारको गलत कामका विरुद्ध काङ्ग्रेसले आवाज उठाउन नसकेको बताए। “दुई तिहाइको बलमा सरकारले संवैधानिक अङ्गदेखि विभिन्न क्षेत्रमा एकतर्फीरुपमा भर्ना गरिरहेको छ, काङ्ग्रेसले आवाज उठाउन सकेन, रोक्न सकेन”, उनले भने । काङ्ग्रेस सही बाटोमा हिँडे मात्रै देश सही बाटोमा हिँड्छ भन्दै पौडेलले पुरानै अन्धविश्वास, गुटउपगुटको एउटा एउटा हाँगो समातेर अन्धविश्वासतर्फ धकेलिँदै गएको काङ्ग्रेस नभई लोकतान्त्रीकरण गरेर जनताले खोजेको काङ्ग्रेस बनाउनु जरुरी रहेको उनको भनाइ थियो । “सरकार सफल हुन नसकी आत्तिएको छ”, पौडेलले भने ।

काङ्ग्रेस उपसभापति एवं प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले पार्टीभित्र एकले अर्कोलाई गर्ने दोषारोपणबाट मुक्त हुँदै पार्टीलाई जनतासँग जोड्नुपर्ने बताए। कार्यक्रममा काङ्ग्रेस महामन्त्री डा शशांक कोइरालाले पार्टी एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । यस्तै काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाले पार्टीभित्र बृहत् एकता र सम्बन्ध विस्तार गरिनुपर्ने औल्याउँदै नेता कार्यकर्तामा नयाँ चेतना आउनुपर्ने बताए । “पार्टीभित्र आफू पनि परिवर्तन हुनुपर्छ र विचार व्यवहार र कार्य गर्ने शैली बदल्नुपर्छ । गत चुनावमा पार्टीको केन्द्रदेखि तल्लो तहसम्म गरेका गल्तीलाई अब दोहर्याउनुहुन्न”, उनले भने ।

प्रकाशित मिति: २० भाद्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्