कांग्रेसका यी मेयर : कामकुरो एकातिर, कुद्छन् सधै विदेशतिर


 


विराटनगर, भदौ २०
जनप्रतिनिधी जनताको सेवामा भन्दा आफ्नो सुविधामा मात्र केन्द्रीत भएको आरोप लागिरहदा विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली विदेश कुद्न मै केन्द्रीत भएका छन् ।

जनताका दैनन्दित समस्या ज्यूँका त्युँ भइरहदा पराजुली भने विदेश धाउनमै व्यस्त देखिएका छन् । गत साउन २३ गते एनआरएनको कार्यक्रमका लागि भन्दै अष्ट्रेलिया पुगेका पराजुली १० दिनपछि नेपाल फर्किएका थिए । भदौ ७ गतेको राधाकृष्ण रथयात्रापछि मेयर पराजुली पून जापान पुगेका हुन् ।

विराटनगर महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि पराजुली भारत, चीन, श्रीलंका, मलेसिया, अमेरिका, अष्ट्रेलिया र जापान पुगेका छन् । बिदेश भ्रमणमा मोहित पराजुलीले भारत र चीनको २–२ पटक भ्रमण गरेका छन् ।

सन २०१८ अगष्ट १७ मा स्मार्ट चाइना एक्पोको उद्घाटन सत्रमा सहभागि हुन चीन पुगेका पराजुली गत फागुनमा पून पाँचजनाको टोली लिएर चीन पुगेका थिए । चीनका ठूला सहरहरुमा फोहोर व्यवस्थापनको अध्ययन गरी १० दिनपछि विराटनगर फर्किएका थिए । गत पुस १८ र १९ गते पराजुली भारतको नयाँ दिल्ली पुगेका थिए । गत असोज पहिलो साता पनि उनी वृन्दाबन पुगेका थिए ।

भीम पराजुली गत कात्तिक ४ गते अमेरिकाको बाल्टीमोर आयोजित कार्यक्रममा सहभागि भए । २०७५ साउन ६ र ७ गते उनी मलेसियामा थिए । पराजुली गत २०७४ कात्तिक १९ गते चार दिने भ्रमणकालागि श्रीलंकाको राजधानी कोलम्बो पुगेका थिए ।

विराटनगरको मुख्य बजारका सडक लथालिंग छन् । सडक तथा नाला निर्माणकालागि खनेर छाडिएका कारण सर्बसाधरणलाई अस्पताल पुग्न पनि समस्या छ । तर विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली भने निरन्तर बिदेश भ्रमणमा छन् ।

मेयर पराजुली आफ्नो नवौं विदेश यात्राका क्रममा जापान पुगेका छन् ।
मेयर पराजुलीले दुई वर्षमा सातवटा देशको नौ पटक भ्रमण गरेपनि उपलब्धी भने शून्य छ । चीन भ्रमणका क्रममा फोहोर व्यवस्थापनमा चिनीयाँ प्रविधिको प्रयोग गर्ने बताएपनि कार्यान्यन हुन सकेन ।

विराटनगर महानगरपालिका– २ का वडा अध्यक्ष कुमार पोखरेल मेयरको विदेश यात्राका कारण नगरसभापछि बोर्ड बैठक बस्न नपाएको बताउँछन् । महानगरपालिकाले विकास निर्माण गर्दा सामान्य सावधानी नपनाउदा सर्बसाधरणले दुःख पाएका छन् । सडकका कारण नगरबासी समस्यामा रहेको अवस्थामा नगरपीताले बिदेश जान नैतिक हिसाबले नमिल्ने पब्लिक फोरम अध्यक्ष उत्तम ढुंगेल बताउँछन् ।

प्रकाशित मिति: २० भाद्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्