नेपाली कांग्रेसका उपसभापति निधिले भने ’नेपाल अब पुन:हिन्दु राष्ट्र हुन सक्दैन’


 


काठमांडाै २० भदाै

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल अब पुन:हिन्दु राष्ट्र हुन नसक्ने बताएका छन्। राष्ट्रिय जागरण अभियान घोषणा कार्यक्रममा बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उपसभापति निधिले कांग्रेस हिन्दु राष्ट्रको पक्षमा नभएको प्रष्ट पारे।

‘संविधानले धर्म निरपेक्षता भनेको छ। संविधान बनाउने नेतृत्व नेपाली कांग्रेसले गरेको हो,’ उनले भने, ‘राज्य धर्म निरपेक्ष छ। कांग्रेसलाई धर्म निरपेक्षता स्वीकार्य छ। हाम्रो चारतारे झण्डामा धार्मिक स्वतन्त्रता छ त्यो भनेको धर्मनिरपेक्षता हो।’

उपसभापति निधिले हिन्दु राज्य बनाउने कुरा कांग्रेसलाई स्वीकार्य नहुने पनि बताए। उनले थपे, ‘जहाँसम्म हिन्दु राज्यको कुरा छ, राज्यलाई हिन्दु राज्य नामाकरण गर्नुपर्छ भन्ने पक्षमा कांग्रेस छैन फाइनल कुरा यही हो।’ कांग्रेसको केन्द्रीय समिति बैठक र महासमिति बैठकका बेला पनि पार्टीले हिन्दु राष्ट्रका लागि पहल गर्नु पर्ने भन्दै आवाजहरू उठ्ने गरेका छन्। असार २२ गतेदेखि सुरू भएर मंगलबार सकिएको केन्द्रीय समिति बैठकमा पनि केही केन्द्रीय सदस्यले हिन्दु राज्यबारे धारणा राखेका थिए।

महामन्त्री शशांक कोइरालाले हिन्दु राष्ट्रबारे जनमत संग्रह हुनु पर्ने बताउँदै आएका छन्।

महामन्त्री कोइराला उपस्थित भएकै पत्रकार सम्मेलनमा उपसभापति निधिले कांग्रेसलाई हिन्दु राष्ट्र स्वीकार्य नहुने बताएका हुन्।

प्रकाशित मिति: २० भाद्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्