रवि लामिछाने लाइ जिल्लाको सक्कल आदेश पेश गर्न उच्च अदालतको आदेश


 


काठमाडौँ, १८ भदौ ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दामा पाटन उच्च अदालत हेटौँडा इजलासले जिल्ला अदालतबाट आदेशको सक्कल विवरण झिकाउने आदेश गरेको छ।

उच्च अदालत पाटनको हेटौँडा इजलासले चितवन जिल्ला अदालतमा रहेका मुद्दा र आदेशसम्बन्धी सक्कल विवरण झिकाउन आदेश गरेको हो । जिल्ला अदालत चितवनको आदेशविरुद्ध दुरुत्साहन मुद्धा धराैटीमा रिहा भएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेल मंगलबार उच्च अदालत पुगेका थिए ।

उच्च अदालतमा दर्ता मुद्दाको न्यायाधीश टेकराज नेपालको इजलासमा भएको बहसपछि कैफियत प्रतिवेदन मागको आदेश भएको रजिस्ट्रार विकास श्रेष्ठले जानकारी दिएका छन् । पाटन उच्च अदालतको हेटौंडा इजलासमा दिइएको निवेदनमा धरौटीसहितका सर्तहरु खारेज हुनुपर्ने माग गरिएको छ ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहनको अभियोगमा जिल्ला अदालत चितवनले भदौ ९ गते लामिछानेलाई ५ लाख र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । उनीहरु धराैटी रकम बुझाएर त्यसै दिन थुनामुक्त भएका थिए।

जिल्ला अदालतले लामिछानेको हकमा विदेश जानुभन्दा अगाडि अदालतको पूर्व स्वीकृति लिनुपर्ने एवं आफू अभियुक्त भएको प्रकरणमा सञ्चार माध्यम प्रयोग गरी विषयवस्तुलाई अतिरञ्जित गर्न नपाइने सर्त राखेको थियो ।

उच्च अदालतमा दर्ता भएको निवेदनमा यी सर्तहरु बेरितको भएकाले बदर माग गरिएको छ ।

लामिछानेले न्यूज २४ टेलिभिजनमा चलाउने कार्यकम ‘सिधा कुरा जनतासँग’सँग पूर्वसहकर्मी पुडासैनी गएको साउन २० गते चितवनको एक होटलमा आत्महत्या गरेको अवस्था भेटिएका थिए ।

उनको साथमा रहेको मोबाइलमा आफू लामिछाने, कँडेल र नर्स अस्मिता कार्कीका कारण मर्न बाध्य भएको भनेर रेकर्ड गरेको भिडियो बरामद भएको थियो ।

भिडियोको ल्याव परीक्षणपछि चितवन प्रहरीले लामिछानेसहित तीनै जनालाई साउन ३० गते काठमाडाैँबाट पक्राउ गरेको थियो । चितवन जिल्ला अदालतको आदेशपछि उनीहरु भदाै ९ गते थुनामुक्त भएका थिए ।

प्रकाशित मिति: १८ भाद्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्