विकास निर्माणको अवरोध यसरी हटाउँदैछन् मुख्यमन्त्री राई
विराटनगर, भदौ १८
लामो समयदेखी अवरोध रहँदै आएको दुहबी कटहरी विद्युत प्रसारण लाइनको अवरोध हटाउन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पहल थाल्नु भएको छ ।
मुख्यमन्त्री राईले बुधवार आफ्नै कार्यकक्षमा यहाँको समस्या समाधानबारे सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ । यसका लागि मुख्यमन्त्री राईले मोरङ क्षेत्र नं ४ का संघीय सांसद अमनलाल मोदी सहित, ग्रामथान गाउँपालिका अध्यक्ष, उद्योगी, व्यवसायी लगायतसँग छलफल गर्नुभएको छ ।
यतिबेला ग्रामथान गाउँपालिकाको गिधनियाँमा प्रसारण लाइन अवरोध छ । छलफलमा प्रसारण लाइनको अवरोध हटाउन मुख्यमन्त्री राईले पहलकदमी लिने बताउनुभएको छ ।
यहाँको समस्या समाधान गर्न म पहलकदमी लिन्छु, मुख्यमन्त्री राईले भन्नुभयो समस्या राखेर हुँदैन, सबै मिलेर समाधान खोज्नुपर्छ । विकास निर्माणमा सबैले सहयोग गर्न पनि मुख्यमन्त्री राईले आग्रह गर्नुभयो । मुख्यमन्त्री राईले प्रसारण लाइनको समस्या अन्त्यका लागि एक दुई हप्तामै पुनः सरोकारवाला निकायहरुको बैठक बोलाउने बताउनुभयो ।
यसका लागि प्राविधिक सहितको टोली गठन गरेर सम्बन्धित क्षेत्रको समस्या आधिकारीक रुपमा लिने पनि बताउनुभयो । अब यहाँको समस्या अन्त्य हुन्छ, मुख्यमन्त्री राईले भन्नुभयो विद्युत झ्याप्प झ्याप्प आउने जाने हुनुहुदैन, यसका लागि विद्युत प्राधिकरणले ध्यान दिओस् ।
गत शनिबार मात्रै मुख्यमन्त्री राईले सोलु करिडोर १३२ केभी प्रसारण लाइनको अवरोध हटाउन पहल गर्नुभएको थियो । गिधनियाँको अवरोध हटाउन यहाँका उद्योगी व्यवसायीहरुले माग गरिरहेका बेला मुख्यमन्त्री राईले अग्रसरता लिनुभएको हो । गत हिउँदमा पनि कोशी करिडोरको विवाद मुख्यमन्त्री राईले समाधान गर्नुभएको थियो ।
प्रकाशित मिति: १८ भाद्र २०७६, बुधबार