ब्रिटिश काउन्सिलले प्रदान गर्याे आइएसए अवार्ड


 


झापा १८ भदाै

झापाको मेची अंग्रेजी बोर्डिङ स्कुलसँगै प्रदेश नम्बर एकका चार वटा संस्थागत विद्यालयले अन्तर्राष्ट्रिय अवार्ड जितेका छन्। ब्रिटिश काउन्सिलले प्रदान गर्ने अन्तर्राष्ट्रिय ‘स्कुल अवार्ड’ (आइएसए) को उपाधि झापा माइधारको मेचीसँगै सुनसरीका दिल्ली पब्लिक स्कुल, आइडल इङलिस स्कुल र पिसजोन अंग्रेजी बोर्डिङले पाएका हुन्। झापामा यो वर्ष अन्तर्राष्ट्रियस्तरको स्कुल अवार्ड पाउने मेची बोर्डिङ पहिलो स्कुल हो।

विश्वका ४१ वटा देशमा ब्रिटिश काउन्सिलले आफ्नो कार्यक्रम सञ्चालन गरिरहेको छ। प्रत्येक वर्ष काउन्सिलले नेपालका विभिन्न विद्यालयलाई अवार्ड प्रदान गर्ने गरेको छ।

काउन्सिलले २१ औं शताब्दीमा आवश्यक पर्ने व्यक्तित्वका विविध आयामलाई शिक्षा र सिपका माध्यमबाट बालबालिकामा स्थानान्तरण गर्ने उत्कृष्ट विद्यालयलाई अवार्ड प्रदान गर्ने गरेको छ। विद्यालयलाई मूल्याङ्कन गर्नुअघि काउन्सिलले विभिन्न कार्यक्रमको प्रस्ताव आह्वान गर्ने र उत्कृष्ट प्रस्तावहरूलाई स्वीकृत गरी कार्यक्रम गर्न अख्तियारी दिने गरेको छ। कार्यक्रम गर्न दिएका विद्यालयहरूमध्येबाट उत्कृष्ट छनौट गरी काउन्सिलले अवार्ड प्रदान गर्ने गरेको छ। प्रस्ताव स्वीकृत भएका स्कुलमध्ये कार्यक्रम सम्पन्न गरेको र उत्कृष्ट कार्य गरेको आधारमा अवार्ड दिएको हो।

झापा भदाै १८
मेची बोर्डिङ स्कुलका प्रिन्सिपल भीम भट्टराईका अनुसार प्राथमिक उपचार, साइबर अपराध, धार्मिकस्थलको संरक्षण सम्बद्र्धन गर्ने तरिका, भूकम्पबाट हुने क्षति न्यूनिकरण, बाढीपहिरोलगायत प्राकृतिक प्रकोप र त्यसबाट जोगिने उपाय, स्थानीय भाषा र तिनको संरक्षण, मौलिक पोशाक र पहिचानको सम्बद्र्धन, मौलिक खाना बनाउने तरिका, लागुऔषधले मानव जीवनमा पुर्याउने क्षति सम्बन्धीको शिक्षा र विद्युतीय साक्षरता सम्बन्धी कार्यक्रममा स्कुलका विद्यार्थीहरूले गरेको अध्ययन अनुसन्धान अवार्डका लागि पेश गरिएको थियो।

अवार्ड बिजेता मेची बोर्डिङका विद्यार्थीले बेलायतको सेन्ट जोसेफ हाइ स्कुल, सेन्ट म्यारी प्राइमरी स्कुल, बंगलादेशको श्रीपुर गभर्मेन्ट हाई स्कुल, पाकिस्तानको आर्मी पब्लिक हाई स्कुल र गभर्मेन्ट गल्र्स हाई स्कुलसँग मिलेर विचार आदानप्रदान गरेका थिए। यी कार्यहरू सम्पन्न गर्दा ब्रिटिश काउन्सिलले समय समयमा स्कुलमा नै आएर प्रत्यक्ष अनुगमन गरेको र रिपोर्ट बुझेको प्रिन्सिपल भट्टराईले बताए। मेची अंग्रेजी बोर्डिङ स्कुलले अवार्ड जित्दा आफ्नो स्कुलको मात्र नभई मेचीकै गौरब बढेको महसुस भएको भट्टराईले बताए। उक्त अवार्ड काउन्सिलले एक साताअघि काठमाडौंमा आयोजित एक समारोहमा वितरण गरेको थियो।

प्रकाशित मिति: १८ भाद्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्