दोस्रो चरणको राष्ट्रिय जागरणको अभियान सञ्चालन गर्दै नेपाली कांग्रेस


 


काठमाण्डौ १८ भदौ
नेपाली कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरणको अभियान सञ्चालन गर्ने भएको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार भदौ २४ देखि असोज ७ सम्म तोकिएकोमा पार्टीको केन्द्रीय कार्यसमिति बैठकले समय केही हेरफेर गर्ने सम्भावना छ ।

जागरण अभियानको बारेमा जानकारी दिन कांग्रेसले बुधबार अथवा अाज दिउँसो पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ । पार्टीको तल्लो तहसम्मको कमिटी निर्माण नगरी अभियान चलाउनुको कुनै औचित्य नभएको भन्दै अधिकांश केन्द्रीय सदस्यले अभियानअघि नै विधानअनुसारको तल्लो तहसम्मको कमिटी निर्माण गर्न नेतृत्वलाई सुझाव दिएका छन् ।

तल्लो तहसम्मकै कमिटी तयार पार्दा अभियान केही पछि धकेलिने सम्भावना छ । तर पार्टीको केन्द्रीय कार्य समितिको बैठकले निर्धारण गरेको मिति भने अाज घोषणा हुने छ ।

बैठकमा भातृ संगठनहरुको केन्द्रीय कार्य समितिको म्याद थप गर्ने विषयमा पनि छलफल भएको छ । यस्तै विदेशमा रहेका विभिन्न ३५ वटा जनसम्पर्क समितिहरुको पनि समयावधि थप गर्ने विषयमा छलफल भएको छ । केन्द्रीय समिति बैठकले गरेका निर्णयहरु अाज सार्वजनिक गरिने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा पार्टीको विधानलगायतका १४ वटा बुँदामा छलफल भएको छ ।

प्रकाशित मिति: १८ भाद्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्