धार्मिक स्वतन्त्रतामा जाेड दिदै कांग्रेस


 


काठमाडौं, १८ भदाै । कांग्रेसमा धार्मिक स्वतन्त्रताका पक्षमा बहस भएको छ। केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले धर्मनिरपेक्षताको विरोध गर्दै धार्मिक स्वतन्त्रता वा हिन्दु राष्ट्रका पक्षमा आवाज उठाएका हुन्।

बैठकमा शीर्ष नेताहरूले भने यस विषयमा जबाफ दिएका छैनन् । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

सहमहामन्त्री प्रकाशशरण महत तथा नेताहरू बालकृष्ण खाण, एनपी साउद, शेखर कोइराला, शंकरभण्डारीलगायतले धर्मका बारेमा पार्टीले स्पष्ट धारणा बनाउनुपर्ने माग गरेका थिए।

सहमहामन्त्री डा. प्रकाशशरण महतले धर्मनिरपेक्षता नभई धार्मिक स्वतन्त्रता हुुनुपर्नेमा जोड दिएका थिए। उनले सनातन धर्मको रक्षा र अन्य धर्मको सम्मान गर्नुपर्ने बताएका थिए।

पार्टी सभापति शेरबहादुर देउवाले धर्मका विषयमा केन्द्रीय सदस्यले उठाएका विषयमा कुनै जबाफ दिएनन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले हिन्दु राष्ट्रको मुद्दामा असहमति जनाएको एक केन्द्रीय सदस्यले बताए। पार्टीको महासमिति बैठकमा आठ सयभन्दा बढी सदस्यले हिन्दु राष्ट्रका पक्षमा हस्ताक्षर गरेका थिए।

दुई महिनादेखि जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंगलबार सकिएको छ। बैठकले नेपालगन्जबाट दैलेख लैजाने क्रममा भीरबाट दर्जनौं गाईको सामूहिक हत्या भएको घटनाको विरोधमा प्रस्ताव पारित गरेको छ।

असार २२ गतेदेखि सुरु बैठक पटक पटक गरी १६ दिन बसेको थियो। महामन्त्री पूर्णबहादुर खड्काले पेस गरेका १४ वटा एजेन्डामा सर्वसम्मतिले निर्णय गर्दै केन्द्रीय समिति बैठक सकिएको हो।

प्रकाशित मिति: १८ भाद्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्