राजपा नेपाल र समाजवादी पार्टी नेपाल बीच एकता नहुने


 


काठमाडौं, १७ भदौ ।
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टी नेपालबीच पार्टी एकता लगभग टरेको छ ।

राजपा नेपालका नेताहरूका अनुसार तत्काल पार्टी एकता हुने सम्भावना छैन । अध्यक्षमण्डल सदस्य राजेन्द्र महतोले समाजवादी पार्टीसँग एकता विषयमा वार्ता नभएको बताएका छन् ।

काठमाडौंको बबरमहलस्थित पार्टी मुख्यालयमा बसेको अध्यक्षमण्डलको बैठकमा महतोले पार्टी एकतामा गम्भीर छलफल नभएको बताएका हुन् । उपेन्द्र यादवसँग भेटघाट भएका बेला समान्य छलफल मात्र भएको महतोले जानकारी दिएका हुन् ।

राजपा र समाजवादी पार्टीबीच औपचारिक रूपमा अहिलेसम्म वार्ता भएको छैन ।

राजपाले विचार, सिद्धान्त, नीति तथा कार्यक्रम मिल्ने पार्टीसँग एकीकरण गर्ने पक्षमा छ । समाजवादीले एकीकरणका लागि चासो व्यक्त गरेपछि राजपाले पनि वार्ता समिति नै गठन गरेको थियो ।

समाजवादी पार्टीका सहध्यक्ष राजेन्द्र श्रेष्ठले राजपा नेपालसँग एकीकरण गर्न औपचारिक वार्ता नभएको बताए ।

राजपा नेपालका नेताहरू पार्टी महाधिवेशन तयारीमा जुटनुपर्ने निष्कर्षमा पुगेका छन् ।

तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेका ७ मध्ये ६ पार्टी मिलेर राजपा नेपाल घोषणा भएको थियो ।

राजपा नेपालले यसअघि नै आगामी २८, २९ र ३० कात्तिकमा महाधिवेशन मिति तय गरिसकेको छ ।

७ वैशाख २०७४ मा राजपा नेपाल घोषणा भएको थियो । पटक–पटक महाधिवेशन मिति तोकिँदै स्थगित हुँदै आएको छ ।

६ वटै दल संयोजक महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिल झा क्रमशः अध्यक्षमण्डल संयोजक हुँदै आएका छन् ।

अध्यक्षमण्डल संयोजक राजकिशोर यादवले तोकिएकै समय महाधिवेशन गर्न तयारीमा जुटिसकेको जानकारी दिएका छ

प्रकाशित मिति: १७ भाद्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्