बुटवल उपमहानगरपालिका र बेलायतकाे डिफआइडी बीच समझदारीपत्रमा हस्ताक्षर


 


बुटवल, १७ भदाै

बुटवल उपमहानगरपालिका र बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालय (डिफआइडी) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल शहरी उत्थानशील परियोजना सुदृढसम्बन्धी समझदारीपत्रमा बेलायतका स्थायी सचिव म्याठ्यु रोय क्रपठ्ले र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले संयुक्तरूपमा हस्ताक्षर गरे ।

सो अवसरमा बेलायतका स्थायी सचिव रोय क्रपठ्ले बाढी, पहिरो र भूकम्पका कारण बुटवलमा बसाइँसराइ गर्नेको सङ्ख्या बढ्नसक्ने उल्लेख गर्दै सबैका लागि सेवाअन्तर्गत सुरक्षित आवास, स्वच्छ खानेपानी, सफा सडक अनिवार्य आवश्यकता भएको बताए।

उनले बुटवलजस्तो शहरको दिगो विकासका लागि ठूलो लगानी आवश्यक भएकामा जोड दिँदै वातावरण संरक्षण र हरित क्षेत्र निर्माण शहरका लागि अनिवार्य भएको बताए ।

उपमहानगरपालिकाका प्रमुख सुवेदीले डिएफआइडीसँग भएको समझदारीले आधुनिक विकाससहितको शहर बनाउन र उपमहानगरपालिकाले लिएको रणनीतिक र आवधिक योजनामा सघाउ पुग्ने विश्वास व्यक्त गरे । उनले परियोजनामा विकासका अनुभव आदानप्रदान हुने उल्लेख गर्दै बेलायतको विकास साझेदारसँगको सहकार्यले थप हौसला मिलेको छ भने ।

सो परियोजनाका आर्थिक तथा राजनीतिक सल्लाहकार कृष्ण ज्ञवालीले आर्थिक सक्षमता, उद्यमशीलता, प्राविधिक विकास, पूर्वाधार विकासलगायत क्षेत्रमा परियोजनाले जोड दिएको जानकारी दिँदै आर्थिक वृद्धि हासिल नभई शहरीकरण हुन नसक्ने बताए ।

उनले बेलायत सरकारको उच्चस्तरीय प्रतिबद्धताको प्रशंसा गर्दै परियोजनामा हस्ताक्षर भएपछि कार्यान्वयनको चरणमा पुग्ने उल्लेख गरे । परियोजना पाँच वर्षको अवधिसम्म सञ्चालन हुने बताइएको छ ।

कार्यक्रममा बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालय (डिएफआइडी) प्रमुख म्याथानियल पेभेन, सामाजिक विकास सल्लाहकार सिंहठिया रे र परियोजनाका सल्लाहकार एलिना वेनब्रेभ पनि हस्ताक्षर कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।

यसअघि स्थायी सचिव रोय क्रपठ्को टोलीलाई नगरप्रमुख सुवेदी र उपप्रमुख गोमादेवी आर्चायले बुटवलको विकासका विभिन्न अवस्थाका बारेमा जानकारी गराएका थिए ।
–––

प्रकाशित मिति: १७ भाद्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्