प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य, उपचार बुधबार टुंगिने
काठमांडौ भदौ १५
स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट थालिएको नयाँ उपचार प्रक्रिया आगामी बुधबारसम्म जारी रहने भएको छ ।
हालसम्म पाँच पटक सोही प्रक्रियाबाट मिर्गौलासम्बन्धी एन्टीबडीलाई निराकरण गरिएको छ । सोमबार छैटौं र बुधबार सातौं चरणको प्रक्रिया सम्पन्न भएसँगै उपचार पूरा हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जनाएका छन् ।
प्रधानमन्त्रीको उपचारमा संलग्न निजी चिकत्सक डा। दिलिप शर्मालाई उधृत गर्दै प्रेस सल्लाहकार अर्यालले हाल प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएका छन् । प्रधानमन्त्री गत भदौ ५ गते दोस्रो चरणको स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए ।
प्रधानमन्त्रीको मृगौलासम्बन्धी एण्डीबडीको मात्र केही बढी देखिएपछि दोस्रो चरणको उपचारका लागि सिंगापुर लगिएको थिाये । एण्टीबडीलाई शरीरबाट निश्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन उनी सिंगापुरमा छन् ।
गत साउन १८ देखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पतालमा ओलीको स्वास्थ्य परीक्षण गरिएको थियो । यसपटक पनि सोही अस्पतालमा विज्ञहरुको टोलीले मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिको लागि उपचार भइरहेको छ ।
प्रकाशित मिति: १५ भाद्र २०७६, आइतबार