मन्त्री भट्टराईको अर्को कदमः प्रतिपक्षी नेतालाई निवासमै गएर भेटे, देउवाको ‘ग्रीन सिग्नल’
काठमाडौं, १४ भदौ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नयाँ ‘संस्कार’को सुरुवात गरेका छन् । मन्त्री भट्टराईले प्रमुख प्रतिपक्षी दल नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो मन्त्रालयले गरीरहेको कामको बारेमा जानकारी दिएका हुन् ।
शनिबार बिहान पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाको बुढानलीकण्ठस्थित निवास पुगेर मन्त्री भट्टराईले आफूले सम्हालीरहेका मन्त्रालयको बारेमा जानकारी गराएका थिए । आफ्नो मन्त्रालयले केही दिन पहिले सार्वजनिक गरेको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराएको भट्टराईले जानकारी दिए । उनले भने, ‘मन्त्रालयका काम र भ्रमण वर्ष–२०२० को बारेमा उहाँले अभिरुचिका साथ सुन्नुका साथै महत्वपूर्ण सल्लाह सुझाव दिनु भएको छ ।’
देउवाले भट्टराईको कार्यशैलीको प्रशंसा गर्दै उनको योजनामा कांग्रेसको साथ रहने बताए। उनले पर्यटन भ्रमण वर्ष सफल बनाउन मिलेर जानुपर्ने धारणा राखेका थिए। देउवाबाट सकारात्मक जवाफ पाएपछि मन्त्री भट्टराई उत्साहित भएर निस्केका थिए।
यसअघिसम्म मन्त्रीहरुले प्रमुख प्रतिपक्षी दलका नेतालाई मन्त्रालयको कामको बारेमा जानकारी दिने प्रचलन थिएन । मन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेतालाई भेटेर आफ्ना मन्त्रालयको कामको योजना सुनाएर असल राजनीतिक संस्कारको सुरुवात गरेको भन्दै सामाजिक सञ्जालमा प्रशंसा भएको छ । यो पहिलो र नयाँ राजनीतिक संस्कारको सुरुवात भएको धेरैले उल्लेख गरेका छन् ।
प्रकाशित मिति: १४ भाद्र २०७६, शनिबार