भारतलाई सबक सिकाउने बेला आयो, इँटको जवाफ पत्थरले दिन्छौंः इमरान खान


 


काठमाडौं, भदौ १३

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मीरका जनताको स्वतन्त्रताका लागि अन्तिम समयसम्म लड्ने घोषणा गरेका छन्।

कश्मीरका जनताका लागि पाकिस्तानमा शुक्रबार आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले कश्मीरमा भारतले अपराध गरेको भन्दै इटको जवाफ पत्थरले दिने चेतावनी दिए।

‘पाकिस्तानको हरेक नागरिक स्वतन्त्र कश्मीरका जनताको पक्षमा छ, ८० लाख कश्मीरी ४ हप्तादेखि कर्फ्युका कारण घरभित्र बसिरहेका छन्। यो दुःखमा साथ छौं’, उनले भने, ‘जबसम्म कश्मीरी जनता स्वतन्त्र हुँदैनन् तबसम्म, अन्तिम समयसम्म लड्छौं।’

कश्मीरी जनतामाथि हिन्दुस्तानले अपराध गरेकाले भारतलाई सबक सिकाउने बेला आएको उनको भनाई छ।

प्रधानमन्त्री खानले कश्मीरका मुसलमान जनतामाथि अपराध हुँदासमेत अन्तर्राष्ट्रिय समुदाय नबोलेकोमा असन्तुष्टि जनाए। ‘यदि कश्मीरी जनता मुसलमान हुँदैनथे भने सारा दुनियाले आवाज उठाउथ्यो, कश्मीरीको पक्षमा बोल्थे। तर जब मुसलमानमाथि अपराध हुन्छ विश्वलाई न्याय दिने संयुक्त राष्ट्रसंघ, ठूला शक्ति राष्ट्र मौन बस्छन्’, उनले भने। विश्व समुदायले वेवास्ता गरे पनि पाकिस्तान जबसम्म कश्मीर स्वतन्त्र हुँदैन हरेक फोरममा कश्मीरको लडाइँ लड्ने उनको दृढता छ।

नेहरु र गान्धीको सिद्धान्त विपरित नरेन्द्री मोदीले कश्मीरमाथि हस्तक्षेप र ज्यादती गरेको खानको भनाई छ।

कश्मीरबारे अमेरिकी राष्ट्रपति ट्रम्प, फ्रन्स, जर्मन, मुस्लिम देशका प्रमुखलाई जानकारी गराइसकेको भन्दै प्रधानमन्त्री खानले आसन्न राष्ट्रसंघको महासभामा पनि यो मुद्दा उठाउने स्पष्ट पारे।

कश्मीरमा भइरहेको ज्यादती र भारतीय कदमको सशक्त विरोध गर्दै उनले इटको जवाफ पत्थरले दिने चेतावनी दिए। हाम्रो फौज तयार छ। ‘स्वतन्त्र कश्मीरमा कुनै किसिमको कदम थाले यिनीहरुविरुद्ध हामी तयार छौं। तर, विश्वले के नजरअन्दाज गर्नुहुँदैन भने आणविक हतियार भएका दुई मुलुक आमनसामने हुँदा क्षति यहाँमात्रै हुँदैन, पुरै विश्वमा हुन्छ।’

कश्मीरमा भइरहेको अपराधविरुद्ध विश्व समुदाय मौन बसे यसको असर विश्मै पर्ने उनको चेतावनी छ। कश्मीर स्वतन्त्रताका लागि विश्वमै अभियान चलाउने उनको भनाई छ। उनले कश्मीर स्वतन्त्र हुने विश्वास समेत व्यक्त गरे।

प्रकाशित मिति: १३ भाद्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्