प्रदेश १ का सबै मन्त्रालयमा सचिवहरु फेरिए, कुन मन्त्रालयमा को ?


 


विराटनगर, भदौ ७
प्रदेश नं १ का सबै मन्त्रालयमा सचिवहरु फेरिएका छन् । संघीय सरकारले प्रदेश मन्त्रालयका लागि नयाँ सचिवहरु पठाएको हो । प्रदेश मन्त्रालयमा सह सचिवलाई सचिवको रुपमा संघीय सरकारले खटाउने गरेको छ ।

सातवटा मन्त्रालय रहेको प्रदेश १ का सबै मन्त्रालयमा संघीय सरकारले वरिष्ठ सह सचिवलाई सचिवको रुपमा पठाएको छ । मन्त्रिपरिषद् बैठकले सबै प्रदेशका लागि ठूलो मात्रामा सह सचिवहरुलाई खटाउने निर्णय गरेको हो ।

प्रदेश १ मा तीनजना सचिव खाली थिए भने बाँकी सचिवहरुको सरुवा गरेर वरिष्ठ सह सचिवहरुलाई प्रदेशमा पठाएको हो ।

यसरी खटाएका सचिवहरुमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुकुन्द निरौला रहेका छन् । मुख्यमन्त्री कार्यालयमा सचिव पद खाली थियो भने निरौला राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट गएका हुन् ।

त्यस्तै सचिव खाली रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा हरिप्रसाद मैनालीलाई संघीय सरकारले पठाएको छ । त्यस्तै सचिव खाली रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयमा सुशीलचन्द्र तिवारीलाई खटाएको छ ।

सामाजिक विकास मन्त्रालयमा वीरबहादुर राई, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सञ्जीवकुमार राई, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा विमलकुमार निर्मल र आर्थिक मामिला तथा योजना मन्त्रालयमा दामोदर रेग्मी रहेका छन् ।

प्रकाशित मिति: ७ भाद्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्