राष्ट्रिय क्रिकेट खेलाडी सरिता मगरलाई १५ प्रश्न


 


जब नेपाली महिला क्रिकेट टोलीको कुरा आँउछ तब सगैँ जोडिएर आउने नाम मध्यको एउटा नाम हो सरीता मगर । महिला क्रिकेट टिमको उदय सगैँ निरन्तर रुपमा टिमको महत्वपुर्ण सदश्यको रुपमा आफुलाई उभ्याउँदै आएकि सरीता ब्याट र बल दुबै बाट टिमलाई योगदान गर्ने क्षमता राख्छिन ।

सानै उमेरदेखी क्रिकेटमा लागेकी यि प्रतिभावान खेलाडीले दुई बर्ष अगाडी मात्र इरानबिरुद्द ७२ रनको पारी खेलेकी थिइन जुन नेपाली महिला क्रिकेट टिमको इतिहासमा सर्बाधिक ब्यक्तिगत स्कोर हो । बिगत केही समयदेखी राष्ट्रिय र अन्तराष्ट्रिय खेल सुन्य भएको अबस्थामा बिभागीय टोली एपिएफ मा आबद्द भई क्रिकेटलाई निरन्तरता दिई रहेकी सरीता सगँ मिलन रेग्मी तथा शैलेश रेग्मी को सहयोगमा खिलाराज नेपाल ले महिला क्रिकेट सगँ सम्बन्धीत भई गरेको कुराकानी 

sarita magar१. तपाईंको क्रीकेट यात्रा कसरी सुरु भयो ? कसरी यो फिल्ड मा आउनु भयो ?

म आठ कक्षामा पढ्थे त्यो बेलामा मलाइ मेरो अन्कल ले क्रीकेट खेल्न प्रेरणा दिनु भएको हो अनि सिकाउनु भएको पनि हो।त्यही देखि स्कुल तिर खेल्दा खेल्दै बाहिर नि खेल्न थालियो।अनि जिल्लास्तरीय प्रतियोगीता क्षेत्रीय प्रतियोगिता हुँदै म राष्ट्रिय टोलिमा आइ पुगेकी हु।

२. राष्ट्रिय टोलिको सदस्य को रुपमा आफू लाई पाउँदा कस्तो महशुस गर्नु हुन्छ ?

खुशी लाग्छ, हामिले लामो समयदेखि आफ्नो देशको प्रतिनिधित्व गर्दै खेलिरहेका छौ यो आफैमा गौरबको कुरा हो।सन 2007 देखि नै हामिले राम्रो गर्दै आइरहेका थियौ। अनि एउटा राष्ट्रलाई चिनाउने र गौरब बढाउने खेल को लागि आफुले योगदान दिन पाउँदा गर्बको महसुस हुन्छ।तर पनि हाल आएर उचित बाताबरण नपाउदा खेरी खिन्नता लागेको छ।

३. हाम्रो समाजमा एकजना छोरी मान्छे लाई यो फिल्ड मा आउन कत्तीको सङ्हर्स गर्न पर्छ? तपाइको अनुभव बताइ दिनुस न।

हाम्रो समाज मा छोरी मान्छेलाइ निकै नै सङ्हर्स गर्न पर्छ। किनकि छोरी मान्छे लाई सबै क्षेत्रमा पनि केही गर्न नसक्ने भन्ने दृस्टिकोण राखिन्छ र त्यही आधारमा व्यबहार गरिन्छ।तर परिवार को साथ भयो भने हरेक कुरा सम्भव हुदो रहेछ। मलाइ पनि मान्छे हरुले यो केटी भएर नि खेल्दै हिन्छे।केटी ले खेलेर के हुन्छ भन्दै हतोत्साहित गर्ने गर्थे तर मैले मेरो परिवार अन्कल को साथ र बुबा आमाको सपोर्ट पाए यसैले आजको दिन सम्म चल्दैछ।

४. नेपाल मा क्रीकेट खेलेर बाच्न सकिने अवस्था बन्ला त? कस्तो लाग्छ तपाइलाइ?

नेपालमा क्रीकेट खेलेर बाच्नसक्ने अवस्था धेरै नै कम छ । सायद क्रीकेट खेलेर बाच्न सक्ने भएको भए आज आएर हामिहरु एपिएफ मा जागिर खानुपर्ने अवस्था आउदैन थियो होला ,अनि कति खेलाडी दिदि बहिनी बिदेश तिर लाग्नु भएको छ ।

५. लामो समय देखि महिला क्रीकेट को गतिबिधी शून्य छ यस्तो अवस्था आउनुमा मुख्य दोसि कस्लाइ ठाँन्नु हुन्छ?

म त पहिले त क्यानलाइनै दोस दिन्छु । हामिलाइ हेर्ने उहाहरु नै थियो अरुलाई त के भन्ने र?तर हामिहरुलाइ ख्याल नै गरेनन । 2007 मा नेपाली महिला क्रीकेटले धेरै नै राम्रो गरेको थियो त्यसपछि खासै केयर भएन । यदि क्यानले राम्रो सग अभ्यास र म्याचहरु खेल्ने अवसर सृजना गरेको भए सायद पुरुष टिमभन्दा पहिले महिला टिमले वर्ल्डकप खेलिसकेको हुन्थ्यो होला ।

६. अहिले त आइ सि सि ले क्यान लाइ ब्यान लगाएको अवस्था छ।तथापि खेलाडी ले खेल्न पाउने त भनिएको छ यो अवस्थामा महिला क्रीकेटको लागि केही होला त?

बास्तबमा भन्नुपर्दा जुन जोगि आएनी कानै चिरिएको भन्ने उखान छ त्यस्तै हो हाम्रा लागि । महिलाको लागि केही होला जस्तो त मलाई लाग्दैन ,त्यहिपनी हामी आशाबादि छौ आइसिसिले हाम्रो लागि केही गरिदिन्छ कि भनेर ।

७. अहिले जुन आइ सि सि ले लगाएको ब्यानले समस्या उत्पन्न भएको छ यसको समाधान को उपाय के होला जस्तो लाग्छ तपाइलाइ?

हेर्नुस हामीले त उचित बाताबरण र अवसर पाए खेल्नेमात्र काम हो। यो समस्या समाधान होस भन्ने चै मनसाय हो तर यस्ले यसो गरोस उस्ले यसो गरोस भनेर मैले भन्नू भन्दा पनि सबैले क्रीकेट लाई ध्यानमा राखेर आफ्नो स्वार्थ नहेरी समस्या समाधान तिर जानू पर्छ भन्ने बिचार छ

८. सँगै खेलेका अन्तर्राष्ट्रिय टोलि हरु र हाम्रो टोलि को अवस्था हेर्दा के कस्तो महसुस गर्नु हुन्छ?

आबुइ ! तिनीहरु र हामिबिच आकाश पातालको फरक छ ।उहिहरुको धेरै राम्रो ट्रेनिङ छ ,धेरै सुबिधा दिइन्छ।खोइ त हाम्रो?बर्षमा एक चोटि म्याच हुन्छ त्यो पनि बल्ल बल्ल अनि कहाबाट उहिहरुको लेवलमा पुग्न सक्छौ त ?

९ महिला क्रीकेट को स्तर उकास्न संबंधित निकाय ले तत्कालचै के गर्दिए हुन्थ्यो जस्तो लाग्छ ?

अब कसरि भनौ भन्नू त धेरै नै छ ।अब रिसेन्ट्ली गेम टन्नै होस ,ट्रेनिङ सक्दो गर्न पाओस , हामीले पाउनुपर्ने उचित सुबिधा पाइएको होस ।

१०. क्रीकेट खेल्न थालेर के पाए र के गुमाए जस्तो लाग्छ तपाइलाइ?

क्रीकेट खेलेर पैसा चाहिँ कमाए भन्दिन तर मैले मेरो आफ्नो नाम कमाए र मेरो बाबा आमाको नाम कमाए , छोरिले नि गर्न सक्छ भन्ने कुरा प्रमाणित गरे । गुमाउनचै मैले मेरो स्टडी गुमाए यस्ले गर्दा कतिपय ठाउमा समस्या हुन्छ ।

११. क्रीकेट कहिले सम्म खेल्नु हुन्छ? कुनै योजना बनाउनु भएको छ? खेल्न छोडेपछि के गर्ने बिचार छ?

क्रीकेट भनेको अब मेरो मन मस्तिष्क माबसेको छ ।म यस्लाइ छोड्न त सक्दिन र कति बर्षसम्म खेल्छु भन्ने सोचेको पनि छैन ।कुनै पनि योजना त बनाको छैन, खेल्न थालेपछी। खै अब एपिएफको जागिर खाएको छु त्यतै तिर ब्यस्त होला लाइफ।

१२. क्रीकेट लाइफमा सबै भन्दा खुसीको र सबैभन्दा दुखको पल शेयर गर्दिनुस न।
खुसीको पल भन्नुपर्दा जब म U-19 खेल्न सिङ्गापुर गएकि थिए, त्यो समय हामीले बिजयको माला लगाउन पाउँदाको खुसिको पल कहिल्यै बिर्सिदिन।दुखको पल भन्नुपर्दा हामी लास्ट टाइम थाइल्यान्डमा हुदाको गेम थाइल्यान्डसग नै नराम्रो सगले हारेको टाइममा ।

१३. समर्थक हरु लाई केही भन्न चाहानु हुन्छ?

सबै क्रीकेट फ्यानलाइ धेरै धेरै धन्यवाद छ । हजुरहरुको सपोर्ट हामिलाइ धेरै नै चाहिएको छ । हामीहरु तपाईहरु बिना अधुरो रहन्छौ नेपाली पुरुष क्रीकेटर जस्तै महिला क्रीकेटर

लाई पनि माया गर्दिनु होला हौसला बढाइ दिनु होला
अनि सम्बन्धित निकाय लाई घच्घक्याइदिनु होला।हामी अवसर पाएमा तपाईंहरु लाई खुशी दिन सक्नेछौ।

१४. यहाँहरुकै सिको गर्दै जो भविश्यमा महिला क्रिकेटर बन्न सपना बनाउदै हुनुहुन्छ उहाँहरुलाई के सुझाव दिनुहुन्छ?

अब फ्युचर को बारेमा त यसै हो भन्न सकिने अवस्था त अबस्य पनि छैन।त्यही पनि एक्दिन महिला टिमपनि धेरै अगाडि बढने आशा छ।यसको आधारमा म के चै भन्न चाहान्छु भने आफ्नो मन ले म सक्छु भनेर खेल्नुहोस, तर फ्युचर यसैमा छ नै चै भन्न नसक्ने अवस्था हुनाले आफ्नो पढाई लाई पनि साथै लिएर जानुहोस अनि परिवार को सहमती मै लाग्नु भयो भने भविस्य मा असहज परिस्थिति सामना गर्न सजिलो हुन्छ तर राम्रो गर्न सकियो भने चै असम्भव केही छैन।
१५ अन्त्यमा जादाजादै तपाइको मनमा लागेको र भन्नै पर्ने केही कुरा छुट भएको भए भन्दिनु होला।

सबै कुरा हरु त भनी नै सके त्यस्तो केही छैन।मेरो आफ्नो अनुभव शेयर गर्ने अवसर जुराइदिनु भएकोमा खिलाराज दाइ लाई धन्यबाद छ। आगामी दिनमा नि हाम्रो बिचार समर्थक हरु सामु पुर्याउन मदत गर्नु हुनेछ भन्ने अपेक्षा छ।

प्रकाशित मिति: ८ जेष्ठ २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्