राजेन्द्र लिंदेन भन्छन् – जातीय आरक्षणले विखण्डन मात्र निम्त्याउँछ, नेपाल बचाउन आरक्षण तत्काल खारेज गर्नुपर्छ


 


राजेन्द्र लिंदेन राप्रपाका महामन्त्री र संसदमा एक मात्र सांसद हुन् । वाम गठबन्धनको समर्थनमा सांसद निर्वाचित भएका लिंदेन जनजाति भए पनि जातीय आरक्षणको विरोधी हुन् । उनी संविधानले सवै समुदायलाई वरावर अधिकार दिएको वताउँदै अव राज्यले वर्गीइ आधारमा आरक्षण गर्नुपर्ने वताउँछन् । युरोपियन युनियनले खसक्षत्रीलाई दिएको आरक्षण हटाउनु पर्ने प्रतिवेदन दिएको सन्दर्भमा लिंदेनसँग  बिनु पोखरेलले गरेको कुराकानी :

युरोपियन युनियनले नेपालमा खस क्षत्रीलाई अरुलाई जस्तो आरक्षण दिइनु हुँदैन भनेर निर्वाचन पर्यवेक्षण प्रतिवेदन दियो । त्यसपछि केहि जातीय आन्दोलनका अभियन्ताहरुले त्यसको वचाउ गरिरहेका छन् । के नेपालमा जनजातिहरु हेपिएका र सवै खस क्षत्रीले अवसर पाएका हुन् ?

मैले सधैं भन्दै आएको छु । हिजो कतिपय भौगोलिक अवस्थाका कारण, राजाहरुका शासन ब्यावस्थाका कारण कोहि जातिलाई या कहिं बसोबास गर्नेलाई मर्का पर्न गयो होला । हिजो कसले के गर्यो त्यो हिजोको कुरा हो । हामी आज नेपाल कस्तो बनाउने भन्ने पृष्ठभूमीमा उभिएका छौं । नेपाल कस्तो बनाउने, हाम्रो हातमा छ । अर्को, हामीले हाम्रै हातले संविधान पनि लेखिसक्यौं । अब यो बेला नेपाल बनाउनतिर लाग्ने कि सयौं वर्ष अगाडिको इतिहासमा कसले के गर्यो भनेर त्यसकै नाममा अन्तरध्वंश चलाउने ? अव काम गर्ने बेला हो, हिजोलाई पच्याएर बस्ने र भविश्यलाई पछि पार्ने होइन ।

अहिले पनि हिजोलाई नै पछ्याउदै बस्ने र आज पनि पछि पर्ने ? हामीले त सबैको प्रतिनिधित्व हुनेगरी संविधान हाम्रै हातले बनाइसक्यौं । समानुपातिक सहभागिताले पनि यी सबै कुरा समेटिसकेको छ । अझै केहि भए हेरफेर गरेर अघि बढ्न सकिन्छ । को को कसरी जाने भनेर हामीले नै संविधान बनाएको हैन ? अब जसले जे पाउने हो संविधानले दिन्छ, दिएको छ । जो सडकमा छन् तिनले आफूले जानेर भन्दा पनि अर्काको उक्साहटमा विरोध गर्ने काम गर्दैछन् । म तिनीहरुलाई देशको माया गर्न र राष्ट्रियता कमजोर हुनेगरी अरुको एजेण्डामा नलाग्न आग्रह गर्छु । विग्रिएकै भए पनि जात भन्दा पहिला हाम्रो देश हो । अब हामी समृद्ध देश बनाउन लाग्नु पर्छ । हिजो के भयो भनेर आजको नेपाल र नेपालीलाई छिर्के लागाएर होइन ।

तपाईं संविधानमा समान सहभागिताको ग्यारेन्टी छ, अब देश समृद्धिमा जानुपर्छ भन्नुहुन्छ । जनजाति अगुवाहरु त असन्तुष्टि ब्यक्त गरिरहेका छन् त ?
मैले यहि भन्दै आएको छु कि संविधानले सबै समेटिसक्यो । अब केहि बाँकी भए वर्गीय संरक्षणको जरुरी छ । गरिवहरुको निक्र्योल गर्ने र राज्यले तिनीहरुलाई आरक्षण दिने हो । अहिलेको आरक्षणले बर्गीय खाडल झन् बढाउँछ । जातजातलाई दिएको आरक्षण तत्काल खारेज नगरी देशलाई अघि बढाउनै सकिंदैन । जातको नाममा धनीले आरक्षण ओगटेर गरिव सबै पिसिइरहेको हामीले हेरिरहनु हुँदैन । यो आरक्षणजति सबै हटाउनु पर्छ । झन् यो जातीय आरक्षण देशको लागि प्रत्युत्पादक भइसकेको छ । यसले देशमा विखण्डन मात्र निम्त्याउँछ ।

आन्दोलनको कुनै औचित्य छैन । त्यो बेमौसमको बाजा हो । अब हामी लड्ने होइन राष्ट्रियताको लागि एक ठाउँमा उभिनु पर्छ । यस्ता आन्दोलनले त नेपालीको सार्बभौमिकता माथि नै प्रहार गर्छ । अनि न रह्यो बाँस न बज्छ बाँसुरी हुन्छ । त्यसैले सरकारसँग हामी समृद्ध नेपाल निर्माण गर्नेहरुको माग छ जातीय आरक्षण हटाउँ । इयुको इसारामा भएको आन्दोलन, मागहरु सर्वथा अनुचित हो । यसको म निन्दा र भत्र्सना गर्न चाहन्छु ।

यस्ता आन्दोलनहरुमा सिधै बाहुनलाई नै इंगित गरेर बाहुन हरुले नै दवाए भनिएको हुन्छ के त्यस्तै हो ?
त्यस्तो हुँदै होइन । हाम्रो जस्तो देशमा एउटा जातले अर्को जातलाई दवाएको छ भनेर भन्नै मिल्दैन । हाम्रो जस्तो मिक्स समाजमा सबैतिर बाहुन मात्र पदमा थियो भन्नु नै बेठिक छ । कतै बाहुनहरु थिए कतै गुरुङ थिए, कतै दमार्ईंहरु मुखिया थिए । कतै बाहुन दलितबाट शासित थिए । कतै दलित बाहुनबाट शासित थिए त कतै जनजाति बहुनबाट शासित थिए । कतै गुरुङबाट शासित थिए । बाहुनले नै मात्र हेपेका थिए भनेर भनिनु नै सर्वथा गलत छ ।

पछाडि पारिएको भए पनि फलानो जातका कारणले हामी पछि पर्यांै अब त्यो जात पछाडि पारिनु पर्छ भन्ने माग अनुचित हो । सबै जातिलाई प्रतिस्पर्धी बनाउने हाम्रो संविधान छ । त्यसैलाई पछ्याउनुको विकल्प छैन ।

एकखालका जनजातिहरु सडकमा इयुको साथ लागेर आएका छन् । तपाईं भने जातीय आरक्षण नै खारेज हुनुपर्छ भन्नुहुन्छ किन ?
एक लाईनमा भनौ, यो जातीय आरक्षणले देशलाई ठिक दिशामा लांदैछैन । म पनि पहाडमा कोदोको ढिंडो खान नपाएर तराई झरेको लिम्बुको छोरो हुँ । तराई आएपछि दुईचार कक्षा पढियो, केहि कमाइयो । मेरो घरमा एक जोडी बाहुन बाहुनी काम गर्छन् । बाहुनी किचनमा र बाहुन गोठमा । अब जातीय आरक्षणको कोटामा म माथि आउने र उनीहरु त्यहिँ थिचिइरहने हुन्छ । यो न्याय भयो ? बरु धनीहरुबाट गरिवहरु दविएका छन् । त्यो अझै पनि छ । त्यसलाई उठाउन हामीले वर्गीय आरक्षणको ब्यवस्था गर्नु पर्छ । धनी सम्पत्तिले राज्य सत्तामा पुगिरहने, गरिव त्यसैगरि दलिएर काम गरिरहने हो भने देशले फ्ड्को मार्न सक्दैन । यसको असर अहिले पनि अलिअलि देखिन थालेको छ । तर कालान्तरमा कुनै बाद र तन्त्र भन्दा ठूलो असर यहि आरक्षणले गर्छ ।

यो आरक्षणले बौद्धिकतालाई एउटा कोठामा लगेर बन्द गरेको छ । बाहिर के होला अनुमान गर्नुस् त ? । एउटा ९० प्रतिशत अंक ल्याएर पास गरेको बाहुनले बाहुन भएका कारण डक्टर पढ्न पाउँदैन । बल्लतल्ल पास भएको जनजातिले डाक्टरको कोटामा नाम निकाल्छ । त्यस्तो जबरजस्त पढेको डक्टरसँग बाबुले उपचार गर्न सक्दैन । मेरो छोरोले डाक्टर पढेको भनेर उसैको बाबुले उसँग उपचार गराउँन सक्दैन भने त्यसले देशलाई कहाँ लैजान्छ ? त्यसैले फेरि पनि भन्छु– यो आरक्षणले हामीले चाहेको समृद्ध नेपाल बन्दैन, आरक्षण हटाउनुपर्छ ।

अन्य देशमा राष्ट्रियताका एजेण्डामा सबै जनता एक ठाउँमा उभिन्छन् । तर हाम्रो देशमा चाहिं राष्ट्रियताको एजेण्डा उठाउँदा पनि खोक्रो राष्ट्रवाद भन्ने किन हुन्छ ?
हो, अहिले मुल राष्ट्रिय पहिचानको कुरा कसैले गर्दैन । जातीय र क्षेत्रीय पहिचानको कुरा जोडतोडले गरिन्छ । यसको फाइदा यहाँ खेल्न चाहानेले उठाएको छ । मान्छेहरु चन्द्रमामा पुगिसके । विश्वमा १६, १७ देश हुँदा भारत र अमेरिका थिएन तर नेपाल थियो । नेपाल र नेपाली भन्दा गर्वले छाती फुलाउनु पर्ने ठाउँमा खण्ड खण्ड भएर सानो झुण्डको नेता बन्दा आफूलाई मालिक सम्झने मानसिकताले अहिले पनि काम गरेको छ । कहाँ छौं हामी अझै ? उसले हिजो हामीलाई पछि पार्यो, अब म पनि त्यसलाई तल पार्छु भनेर देश कहाँ पुग्छ ? हामी बुझेका मान्छेले गर्ने काम हो त्यो ? छातीमा हात राखेर भनौं के हामी त्यो नेपाल राष्ट्रको निम्ति नै गरिरहेका छौं ? नेपाल समावेशीतामा अघि छ, विश्वले पच्छ्याएको छ । यसमा कुनै दुईमत छैन । समावेसी, समानुपातिकको हिसावले विश्वकै उत्कृष्ट संविधान छ । त्यसैले अरुका एजेण्डा बोकेर होइन देशका एजेण्डा बोकेर हिंड्दा गर्व गरौं ।

यसरी राष्ट्रियता खण्डित हुने कारण के हुन् ? र तपाईंले भने जस्तो राष्ट्रिय एकता मजबूत पार्ने इन्डिकेटरहरु चाहिँ के हुन् ?
धतुरो रोपेर आँप फल्दैन । हिजोको आन्दोलनमा उनीहरुलाई स्वागत गर्यो र अहिले इयुले खेल्न पाएको छ । यसलाई रोक्नु पर्छ । एक एक गरी यिनलाई छानेर देशमा आउनै बन्द गरिनु पर्छ ।राष्ट्रिय एकता मजबुत बनाउने हाम्रो धर्म थियो, भाषा थियो, पोशाककै कुरा गरौं । कुनै प्रदेशमा त राष्ट्रिय पोशाक पनि मर्यादा पालकले नै लगाउन नहुने बनाइएको छ । यसरी हाम्रा राष्ट्रिय एकताका आधारहरु खण्डित बनाएर लैजाने काम भएको छ । फेरि सँगसँगै यी सबै कुरा भएर देश समृद्ध भएन भने गरिवहरु अरुको गुलाम गर्न जानै पर्ने परिस्थिति रहिरहन्छ । राष्ट्रियता मजबुत हुँदैन ।

यहिँनेर एउटा कुरा जोडौं, अहिले गाईको कुरा उठेको छ । विज्ञानको हिसावले, सनातन परम्पराको हिसावले र संविधनको ब्यावस्थाको हिसावले पनि अन्य जनावर त काटेर खान पाईंदैन भने गाई काटेर खान्छु भन्न पाईंदैन । यो कुरा सबैले बुझुन् ।

ब्रिटिश आर्मी देखि भारतीय आर्मीमा पनि जनजातिहरु नै छन् । खासमा आर्थिक पहुँचमा सम्पन्न चाहिँ जनजाति नै देखिन्छन् होइन ?
त्यस्तो पनि हैन । केहि जनजाति धनी होलान्, कतै बाहुन पनि धनी होलान् । तर मेरो एउटै मात्र भनाई छ, अब आरक्षणको नाममा धनीले पाइरहने र अर्को जातको भएका कारण गरिव गरिवको गरिवै हुने अनि त्यसैले आरक्षण पाउने हुनु हुँदैन । गरिवलाई आरक्षण भएपछि त जनजाति गरिव छ भने गरिवले पाउँछ । बाहुन गरिव छ भने पनि त्यो आरक्षण गरिवले पाउँछ । मेहनतको कुरा गर्नुहुन्छ भने एउटा धनीको बच्चाले भन्दा गरिवको बच्चाले धेरै गर्छ । देश प्रतिको लगाव पनि त्यो गरिवलाई धेरै हुन्छ किनभने उसले चाहेर पनि यहाँ केहि हुँदा बाहिर गएर बस्ने पहुँच राख्न सक्दैन ।

राप्रपाको एकमात्र प्रतिनिधिको रुपमा एमालेको सर्मथनमा शानदार मत सहित झापाबाट जित्नु भयो । त्यहाँ तपाईंको भुमिका कस्तो हुन्छ ?
हो मैले एमालेको सर्मथनमा जितेको हुँ । उहाँहरुको मतको म सधैं कदर गर्नेछु । जहाँसम्म मेरो प्रतिनिधित्वको कुरा गर्नुभएको छ, अस्ती पनि संसदमा बोल्दा मैले भनेको थिएँ कि मेरो लागि भष्टाचार गर्नु आमाको रगत खाए बराबर हो । हामी सबैले देशलाई मर्का पर्ने कुरा, आमालाई दुखाउने कुरा सम्झेर काम गरौं मैले भनिरहेको छु । मेरो त्यो ठाउँमा राष्ट्रियता मजबुत बनाउने भूमिकामै रहनेछु ।

प्रकाशित मिति: १९ असार २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्