जोगबनीबाट खाली मालबाहक सवारी साधन लैजान नपाइने


 


विराटनगर। भारतीय प्रशासनले गत शुक्रबारदेखि नेपालले प्रयोग गर्दै आएको जोगबनीको रुटबाट खाली मालबाहक सवारी साधन लैजान रोक लगाएको छ । जोगबनीबाट दैनिक ३ सय गाडीहरु आउने–जाने गरेका थिए तर, भारतीय पक्षले सवारी साधनमा रोक लगाएपछि दैनिक ६०–७० वटा मात्र सवारी साधनहरु मुख्य नाका भएर आउने–जाने गरेको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

सीमावर्ती भारतीय बजार जोगबनीको स्थानीय प्रशासनले नेपाल–भारत पारवहन सन्धी र बीबीआइएन पारवहन सन्धीविरुद्ध जोगबनी–विराटनगर नाकाबाट आवत–जावतमा रोक लगाएको हो ।

भारततर्फ अवरोध भएका कारण जोगवनी रेल्वे स्टेशनसम्म औद्योगिक कच्चा पदार्थ लिन मालबाहक सवारी साधनहरु जान पाएका छैनन् । खाली मालबाहक सवारी साधनलाई साँझ ७ बजे देखि ९ बजे दुई घण्टा मात्र जान दिएको छ । बाँकी सवारी साधनहरु बाटोमै बस्न बाध्य भएको सवारी चालकहरु बताउँछन् ।

नेपालले पारवहनको सुविधा पाएको जोगबनी रुट भएर जाने खाली सवारी साधनलाई रोक लगाउँदा नेपालीहरु मार्कामा परेका छन् । भारततर्फ फारबीसगञ्जले परिपत्रनै पठाएर रोक लगाएको हो । परिपत्रमा जोगबनी बजारमा भएको जाम कम गर्नका लागि सवारी साधन रोक्नु परेको बताइएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: १८ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्