झापामा गोबर र पिसाबले उप्कियो कालोपत्रे !


 


झापा । चौपाया तस्करका कारण बन्दै गरेको कालोपत्रे सडक उप्किन थालेपछि झापा गाउँपालिकाले चिन्ता व्यक्त गरेको छ ।झापा गाउँपालिका वडा नम्बर ३ को कामाटोली-फूलगाछी सडक र कामाटोली-भामटोली सडकअन्तर्गत हालै निर्माण सम्पन्न भएको दुई हजार एक सय मिटर सडक चौपायाका कारण उप्किन थालेको छ ।

नेपालबाट भारत तस्करी हुने गाईगोरु सो मार्ग हुँदै लैजाने गरेको स्थानीयको भनाइ छ ।प्राविधिकका अनुसार गाईबस्तुको दिसापिसाबका कारण कालोपत्रे सडक जीर्ण बन्दै गएको छ । कालोपत्रे गरेको कम्तीमा तीन महिनासम्म सेटिङ हुन समय लाग्ने भए पनि उपभोक्ताले समेत बेवास्ता गरेको बताइएको छ ।बिहान र बेलुकाको समयमा कामाटोली बजार हुँदै सयौँको संख्यामा गाई र गोरुको तस्करी हुँदै आएको छ ।

गाईगोरुको खुरले पनि भर्खरै बनाइएको कालोपत्रे उप्काउने गरेको छ ।त्यस्तै, गाउँपालिका अध्यक्ष जयनारायण शाहका अनुसार ‘केही अबुझ’ उपभोक्ताका कारण पनि हालै गरिएको कालोपत्रे जोगाउन मुस्किल परिरहेको छ । ‘यहाँ पिच हुन्छ भन्ने कल्पनै गरिएको थिएन’, अध्यक्ष शाहले भने, ‘नबुझ्ने साथीहरुले बाटोको संरक्षण गरेनन् ।’

यद्यपि, उनीहरुलाई सम्झाउने प्रयास भइरहेको उनले बताए ।तस्करहरुले गाईगोरु हिँडाउन नछाडेपछि गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमका कर्मचारीलाई खटाए पनि नरोकिएको बताइएको छ । गोबर र पिसाबले गर्दा पिचको आयु पनि कम हुने प्राविधिक बताउँछन् ।त्यस्तै, कालोपत्रे नसुक्दै मोटरसाइकल स्टेन्ड लगाएर राख्ने, ट्याक्टर चलाउने गर्दा पनि कालोपत्रे कमसल बन्दै गएको शाहले बताए । एक करोड रुपैयाँभन्दा बढीको लागतमा ती सडकमा कालोपत्रे भएको हो ।

प्रकाशित मिति: १७ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्