प्रधानमन्त्रीलाई मन्त्रीको चेतावनी– मलाई अहिल्यै मन्त्रीबाट हटाए हुन्छ


 


बुटवल, १७ असार– कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले प्रधानमन्त्रीले आफूलाई मन्त्रीबाट बर्खास्त गरे पनि केही फरक नपर्ने बताएका छन् ।

उनले प्रधानन्त्रीले नचाहेको अवस्थामा कोही पनि मन्त्री सरकारमा बस्न नहुने स्पष्ट गरे । यद्यपि बाहिर चर्चा भएजस्तो तत्काल मन्त्रिमण्डल हेरफेरको सम्भावना नरहेको उनको भनाइ थियो । ‘मन्त्रिमण्डलमा हेरफेर हुनै नसक्ने होइन’, मंगलबार बुटवलमा आयोजित साक्षात्कारमा खनालले भने, ‘तर, तत्काल त्यो सम्भावना छैन ।’ मन्त्री खनालले प्रधानमन्त्रीले चाहेको अवस्थामा जसलाई जतिखेर पनि मन्त्रीबाट हटाउन सक्ने बताए ।

नेकपामा मन्त्रीका लागि धेरै योग्य व्यक्तिहरु रहेकाले सबैले पालो पाउनुपर्ने तर्क उनले गरे । ‘जबसम्म मेरो कुरा छ, मलाई अहिल्यै हटाए पनि हुन्छ । केही टेन्सन छैन’, खनालले भने । फरक प्रसंगमा मन्त्री खनालले नेकपा अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको बताए । तर, ओली प्रधानमन्त्री भएको अढाई वर्ष हुनै बाँकी रहेकाले प्रधानमन्त्री फेर्नेबारे अहिल्यै हतारो नभएको टिप्पणी गरे । ‘आलोपालोको सहमति भएको हो’, खनालले भने, ‘तर अहिले बेला भएको छैन ।’

प्रकाशित मिति: १७ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्