ट्रम्प र किमबीच तेस्रो भेटवार्ता


 


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भेटवार्ता भएको छ । दुई नेताबीच दुई कोरियालाई छुट्याउने ट्रुस भिलेजमा आइतबार भेटवार्ता भएको हो । ट्रम्प र किमबीच यो तेस्रो भेटवार्ता हो । पूर्वनिर्धारित कार्यक्रमअनुसार किम र ट्रम्पले उत्तर र दक्षिण कोरियालाई छुट्याउने असैनिकृत क्षेत्रमा हात मिलाएका थिए । त्यसपछि दुवैले सीमाक्षेत्रबाट केही कदम हिँडेर उत्तर कोरियाको भूमिमा पाइला टेकेका थिए । उत्तर कोरियाली भूमिमा नेता किमसँगै उभिएको क्षणलाई दुई देशबीचको कूटनीतिको सांकेतिक कोसेढुंगा मानिएको छ ।

उत्तरको भूमि टेक्ने पहिलो बहालवाला राष्ट्रपति
ट्रम्प उत्तर कोरियाली भूमिमा पाइला टेक्ने पहिलो अमेरिकी राष्ट्रपति बेनका छन् । उत्तर कोरियाली नेताको अनुरोधमा ट्रम्प उत्तर र दक्षिण कोरियालाई छुट्याउने रेखा पार गरेर उत्तर कोरियाली भूमिमा पुगेका हुन् । ट्रम्प २० पाइला हिँडेर उत्तर पुगेका थिए । अमेरिकी राष्ट्रपतिले उत्तरको भूमिमा पाइला टेक्नु ऐतिहासिक क्षण भएको किमले टिप्पणी गरे भने ट्रम्पले त्यसलाई आफ्ना लागि ठूलो गर्व भएको बताए । ‘सीमा पार गरेर कोरियाली भूमिमा पुग्नु मेरा लागि ठूलो गर्व हो,’ ट्रम्पले भने । आफूहरूबीच गहिरो मित्रता रहेको पनि ट्रम्पले बताए । भेटमा केही अनौपचारिक गफ भएको थियो । ‘तपाईलाई पुन भेट्न पाउँदा मलाई खुसी लागेको छ । यो स्थानमा तपाईंसँग भेट होला भनेर मैले कल्पना गरेको थिइनँ,’ ट्रम्पले किमलाई भने ।

अहिलेसम्म अमेरिकाका दुई पूर्वराष्ट्रपतिले उत्तर कोरियाको भ्रमण गरेका छन् । अहिलेसम्म पूर्वराष्ट्रपति जिम्मी कार्टर र बिल क्लिन्टनले उत्तर कोरियाको भ्रमण गरेका छन् । कार्टरले सन् १९९४ को जुनमा र क्लिन्टनले सन् २००९ को अगस्टमा उत्तर कोरियाको भ्रमण गरेका थिए । तर, अमेरिकाका वरिष्ठ अधिकारीहरूले यसअघि पनि उत्तरको पटक–पटक भ्रमण गरेका छन् । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चारपटक उत्तरको भ्रमण गरेका छन् भने क्लिन्टन प्रशासनका मेडलिन अलब्राइटले सन् २००० मा प्योङयाङको भ्रमण गरेकी थिइन् ।

कोरियाली प्रायद्वीप निकै शान्त : ट्रम्प
अमेरिकी राष्ट्रपति ट्रम्पले कोरियाली प्रायद्वीप अहिले निकै शान्तिपूर्ण रहेको टिप्पणी गरेका छन् । ‘यस क्षेत्रमा ठूलो युद्ध हुन्थ्यो र प्रायद्वीप वरपर मृतक भेटिन्थे,’ ट्रम्पले भने, ‘तर अहिले यहाँ निकै शान्ति छाएको छ । यो भिन्दै संसार हो । यहाँ धेरै परिवर्तन आएको छ ।’ कुनै वेला निकै खतरनाक रहेको सो क्षेत्र उत्तर कोरियाली नेता किमसँग आफ्नो वार्तापछि परिवर्तन आएको दाबी गरे । ‘किमसँगको पहिलो वार्तापछि सबै खतरा हराएछ,’ ट्रम्पले भने । प्योङयाङ, वासिंटन र सिउलबीचको त्रिपक्षीय वार्तापछि सो क्षेत्रमा आक्रमण तथा विस्फोटका घटना रोकिएको उनको भनाइ थियो ।

मुन र ट्रम्पबीच भेटवार्ता
आइतबार नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनबीच राष्ट्रपति कार्यालय ब्लु हाउसमा द्विपक्षीय भेटवार्ता भएको थियो । सो अवसरमा ट्रम्पले उत्तर कोरियाबाट अमेरिकालाई पहिलाजस्तो खतरा नभएको बताएका थिए । ‘हुँदा दक्षिण कोरियाको सबैभन्दा ठूलो समस्या उत्तर थियो,’ ट्रम्पले भने, ‘कुनै पनि वेला अप्रिय घटना हुन सक्थ्यो । शान्तिप्रतिको जनताको चाहनामा हामीले कडा अडान लियाँै । अहिलेको परिस्थिति बिल्कुलै फरक छ ।’ भेटवार्तापछि ट्रम्प र मुनले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेका थिए । पत्रकार सम्मेलनमा आफूले किमलाई भेट्ने बताएका थिए । ट्रम्पले राजधानी सिउलमा व्यापारिक नेताहरूलाई समेत सम्बोधन गरेका थिए । आइतबार नै ट्रम्पले दक्षिण कोरियामा रहेका अमेरिकी सेनासँग भेटेका थिए ।

प्रकाशित मिति: १६ असार २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्