कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीको भन्दा बढी सासूको चिन्ता


 


काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सासु प्रतिभा राणाको राजदुत पद बचाउन लाग्दा पार्टी संसद र सडकमा कमजोर देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसंग देउवाले सासुको पद जोगाउन सम्बन्ध सुमधुर बनाइरहेका छन् । उदाहरणका रुपमा गत वर्ष ओली सरकारले संसद्मा प्रस्तुत नीति तथा कार्यक्रमका सम्बन्धमा कांग्रेसले लिएको नीतिलाई हेर्दा प्रष्ट हुन्छ ।

ओली सरकारले विवादास्पद विधेयक ल्याउनेदेखि सत्ता केन्द्रीकृत गर्दै लगेको विषय उठे पनि प्रतिपक्षी दलको नेताका हैसियतमा जसरी प्रस्तुत हुनुपर्ने हो– देउवा त्यसरी प्रस्तुत हुन नसकेको स्वयं कांग्रेसीजनहरु बताउँछन् ।

ओली सरकारविरुद्ध कुनै कार्यक्रम नल्याउनु, सरकारका प्रत्येक क्रियाकलापलाई वक्तव्य र स–साना मञ्चमा विरोध गरेजस्तो गर्नु बाहेक देउवाले कुनै त्यस्तो गहकिलो कदम नउठाउनुका पछाडि सासू राणा रहेको कांग्रेसजनले खुलमखुल्ला भन्छन् ।

जापानका लागि राजदूत रहेकी राणालाई फिर्ता बोलाउनु पर्ने आवाज नेकपा भित्र उठ्दै आएपनि ओलीले देउँवालाई आफुसंगै राख्न रोकिरहेका छन् ।

दुई तिहाइको कम्युनिष्ट सरकार बन्नुअघि नियुक्त अधिकांश राजदूत फिर्ता बोलाइए पनि राणा भने यथावत् छन् ।

कांग्रेसले सत्ता चलाउँदा कांग्रेस र राप्रपा दलको कोटामा राजदूत बनाइएका सबैलाई फिर्ता बोलाइए पनि राप्रपाको कोटामा राजदूत बनेकी प्रतिभा यथावत छन् ।

देउवा राजदूतमा सासूको निरन्तरता चाहन्छन् । ओलीले त्यो चाहनामा गुलियो वचन दिएकै कारण देउवा नरम भएर प्रस्तुत हुँदै आएका छन् ।

प्रकाशित मिति: १६ असार २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्