“एकताको समयमा भएको समझदारीलाई ‘बजारीकरण’को विषय नबनाऔं”


 


विराटनगर, असार १५

नेकपाका नेता एवम् उप–प्रधानमन्त्री इश्वर पोखरेलले नेकपाको राजनीतिक कार्यदिशा जनताको जनवाद भनिएपनि आधारभूत मूल्यमान्यताहरु जनताको बहुदलीय जनवादकै रहेको बताउनु भएको छ ।

मदन भण्डारीको जन्मजयन्तीको उपलक्ष्यमा मदन भण्डारी फाउण्डेशन मोरङले विराटनगरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले संविधानको सर्वोच्चता, कानुनको शासन, आवधिक निर्वाचन, मानवअधिकारको संरक्षण, प्रेस स्वतन्त्रता जस्ता जनताको बहुदलीय जनवादका आधारभूत मूल्यमान्यता नै पार्टी राजनैतिक कार्यदिशा रहेको स्पष्ट पार्नुभयो । उहाँले पार्टीको राजनीतिक कार्यदिशा बारे विवाद गर्नुको औचित्य नरहेको स्पष्ट पार्दै स्वरुपमा भन्दा पनि सारमा बुझ्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

उपप्रधानमन्त्री पोखरेलले पार्टी एकताका बेला भएको समझदारी पार्टीलाई नै थाहा नभएको बताउदै यसलाई बजारीकरणको विषय नबनाउन आग्रह गर्नुभयो । उहाँले आलोपालो र नेतृत्व कसलाई दिने भन्ने निर्णय पार्टीले गर्ने बताउदै समझदारीलाई समय, मर्यादा, सीमा र प्रक्रिया अनुसार कार्यान्वयन गरिने बताउनु भयो ।

उपप्रधानमन्त्री पोखरेलले त्रूटिपूर्ण कार्यशैलीका कारण पार्टी एकताका प्रक्रियाहरु टुङ्गो लाग्न नसकेको बताउदै पार्टी एकताको उद्देश्य राजनीतिक स्थिरता तथा विकास र समृद्धि भएकाले पार्टी फुट्ने हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति: १५ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्