अवकाशको संघारमा पुगेका डा प्याकुरेललाई मन्त्री यादवले किन दिए महानिर्देशकको जिम्मेवारी ?


 


काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागको जिम्मेवारी डा सुशील प्याकुरेललाई दिएको छ । नियमानुसार १२औं तहकै कर्मचारी महानिर्देशक हुने भए पनि यसअघि राजनीतिक पहुँचका आधारमा कनिष्ठहरु ‘हाकिम’ हुने गरेका थिए। मन्त्रालयले लामो समयपछि तोकिएको योग्यता पूरा भएका व्यक्तिलाई जिम्मेवारी दिएको हो।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा प्याकुरेल १२औं तहमा बढुवा भएपछि मन्त्रालय आएका थिए। उनले लामो समय लामो समय राजधानी बाहिर र दुर्गममा सेवा गरेका छन्। सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशक हुँदा उनको १२औं तहमा बढुवा भएको थियो।

विभागको महानिर्देशक १२औं तहका कर्मचारीले विरलै पाउँछन्। पाए पनि छोटो समयका लागि पाउने गरेका छन्। योग्यताका हिसाबले डा प्याकुरेलका लागि यो जिम्मेवारी उपयुक्त भए पनि दिइएको थिएन। उनलाई पनि सेवाबाट अवकाशको संघारमा आइपुगेपछि यो जिम्मेवारी दिइएको छ। यसलाई उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको ‘रणनीतिक कदम’का रुपमा कर्मचारीहरुले बुझेका छन्।

आर्थिक वर्षको अन्त्यमा सरुवा गरिएका उनले सेवा सुरु हुँदैगर्दा अवकाश प्राप्त गर्नेछन्। हाल निमित्त महानिर्देशकको जिम्मेवारी सम्हालिरहेका डा गुणराज लोहनी राजनीतिक पहुँचमा बलियो मानिन्छन्। सत्ता साझेदार नेकपा निकट मानिने डा लोहनीलाई हटाएर ‘आफ्नो मान्छे’ पठाउने प्रयास यसअघि गरे पनि असफलसिद्ध भएको थियो।

यसपल्ट पनि डा लोहनीलाई हटाएर सिधै आफू निकट व्यक्ति सरुवा गर्दा समस्या उत्पन्न हुने भएपछि मन्त्री यादवले डा प्याकुरेललाई ‘पुल’ बनाएका हुन्।

डा प्याकुरेल आगामी वर्षको टेन्डर खोल्ने प्रक्रियाअघि अर्थात् भदौ २२ गतेसम्म मात्रै रहनेछन्। उनी अवकाश भएपछि आफू निकटलाई उक्त जिम्मेवारी दिने रणनीति मन्त्री यादवले बनाएका हुन्। विभाग संघीय स्वास्थ्य मन्त्रालयको धेरै बजेट सञ्चालन गर्ने निकायमा पर्छ ।
प्रमुख विशेषज्ञ प्याकुरेलले आफु मन्त्रालयकै कामले जनकपुर रहेको र मंगलबार काठमाडौं फर्किएर पदवहाली गर्ने बताए।

यसअघि १२औं तहका डा सेनेन्द्रराज उप्रेतीले केही समय र डा विनोदमान श्रेष्ठले केही दिन मात्रै स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी पाएका थिए।

प्रकाशित मिति: १५ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्