सहिदका परिवारको नाममा आएको भैँसी समाजवादी पार्टीका नेताले लगेपछि
जनकपुर, असार १५ प्रदेश २ सरकारले मधेस आन्दोलनका सहिद परिवारका लागि भन्दै भैँसी किनेर पार्टीका नेता तथा पूर्वमन्त्रीलाई वितरण गरेको छ । सिरहामा सरकारले बाँडेको भैँसी पूर्वमन्त्री र पार्टीका नेतादेखि नेताका आफन्तसम्मको गोठमा पुगेका छन् ।
पूर्वकेन्द्रीय मन्त्रीसमेत रहेका समाजवादी पार्टीका नेता राजलाल यादव र उनका छोरीज्वाइँ रमेशकुमार यादवले सहिदको परिवारका नाममा आएको भैँसी पाएका छन् । उनीहरूलाई भूमि व्यवस्था तथा कृषि एवं सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले बिहीबार लहानस्थित पशुपति आदर्श माविको प्रांगणमा भैँसी हस्तान्तरण गरेका थिए ।
मधेस आन्दोलनमा सिरहाबाट ६ जना सहिद भएका थिए । यो जिल्लामा सरकारले १८ परिवारलाई भैँसी बाँडेको छ । तर, तीन सहिद परिवारले भैँसी पाएका छैनन् । सहिद रमेशकुमार महतो, बेचन यादव र प्रमोद सदायका परिवारले मात्रै सरकारी भैँसी पाएका छन् । सहिद विजयकुमार सहनी, मोहम्मद अनिस र राजेशकुमार ठाकुरका परिवारले भने पाएनन् । पहुँचका आधारमा सहिद परिवारबाहेकका राजनीतिक व्यक्तिलाई भैँसी बाँडेको भन्दै पीडितले आपत्ति जनाएका छन् ।
प्रदेश २ सरकारले मधेस आन्दोलनका सहिद परिवारलाई दुहुनो गाई र भैँसी वितरण गर्ने भन्ने कार्यविधिको शीर्षकबाटै प्रस्ट पारेको छ । ‘मधेस आन्दोलनका सहिद परिवारलाई दुधालु गाई वा भैँसी वितरण कार्यक्रम सञ्चालन कार्यविधि, २०७५’ नाम दिइएको छ ।
कार्यविधिको दफा ३ को उपदफा १ मा भनिएको छ, ‘मधेस आन्दोलन ०६२र६३ तथा तत्पश्चात्को विभिन्न समयमा भएको मधेस आन्दोलनका क्रममा पीडित सहिद परिवारको विवरण प्रदेश २ का विभिन्न आठ जिल्लाहरूको जिल्ला प्रशासन कार्यालयहरूबाट माग गरिने छ ।’ त्यस्तै, सोही उपदफाको २ मा भनिएको छ, ‘जिल्ला प्रशासन कार्यालयहरूबाट प्राप्त विवरणका आधारमा पीडित सहिद परिवारको घरमा पुगी पशुपालन गर्न इच्छुक व्यक्ति वा परिवारको लगत संकलन तथा भौतिक पूर्वाधार गोठ खोर स्थलगत अवलोकन गरी पशुपालन कार्यक्रममा सहभागी हुने इच्छुक व्यक्तिहरूको संख्या यकिन गर्ने’ प्रावधान राखेको छ ।
तर, सरकारले नेतालाई पनि गाई, भैँसी वितरण गर्न कार्यविधि परिवर्तन गरेको थियो । नयाँ कार्यविधिमा घाइतेलाई पनि दिने उल्लेख छ, त्यहीअनुसार पूर्वमन्त्रीले पाएका हुन् । सरकारबाट भैँसी पाएका पूर्वमन्त्री यादवलाई हामीले ‘तपाईं पनि घाइते हो’ भनेर सोधेको थियो । जवाफमा उनी लामो हाँसो हाँसे । पछि उनले भने, ‘पुलिसको लाठी खाएको थिएँ, अस्पताल पनि गएको थिएँ ।’पूर्वकेन्द्रीय मन्त्री राजलाल यादव भन्छन्–सहिद परिवारका लागि मैले यत्रो काम गरेको छु, एउटा भैँसी लिनु कुन ठूलो कुरा हो ?
मधेस आन्दोलनमा प्रहरीको लठी खाएर अस्पतालमा भर्ना भएको मान्छे हुँ । मैले घाइतेको नाममा भैँसी लिएको हुँ । मागेको त गाई हो, तर दुईवटा मात्रै रहेछ, त्यसैले पाइनँ । प्रदेश सरकारले सूचना निकालेरै घाइतेको विवरण मागेअनुसार नै मैले फर्म भरेको हो । १२ गते भैँसी दिँदा सरकारले हामीसँग एउटा सम्झौता नै गरेको छ, घाइतेलाई दिएको भनेर । सहिद परिवार पनि छुटेको छैन । कसैले इच्छा नै नदेखाएर नपाएको हुन सक्छ । म त सहिद रमेश महतो प्रतिष्ठानको अध्यक्ष पनि हुँ । सहिदको घर–घरमा पुगेको छु । कतिपयको फर्म त मैले नै भरिदिएको हो । मैले सहिद परिवारका लागि जति काम गरेको छु, त्योअनुसार सरकारले दिएको एउटा भैँसी लिनु ठूलो कुरा हो र रु ८० हजार हालेर भैँसी किन्न नसक्ने मान्छे पनि होइन । (नया पत्रिका)
प्रकाशित मिति: १५ असार २०७६, आइतबार