झोला बोकेर बजार जानुभन्दा कौशीमै तरकारी लगाऔं : प्रधानमन्त्री ओली


 


काठमाडौं । सरकारले घोषणा गरेको राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा आज देशैभर फलफूल लगायतका विभिन्न विरुवा रोपिदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान कोटेश्वरमा विरुवा रोपेर राष्ट्रिय वृक्षारोपण दिवस तथा वृक्षारोपण वर्षको शुभारम्भ गरेका छन् ।

प्रधानमन्त्री ओलीले सबै नेपालीलाई आफुले सक्ने ठाँउमा वृक्षारोपण गरेर हरित वातावरण बनाउन सहयोग गर्न अपिल गरेका छन् । सबैले आ–आफ्नो ठाउबाट वृक्षारोपण गरौं, ठाउँको अभाव भए कौशीमा गएर एउटा गमलामा खुर्सानीको बोट भए पनि लगाऔं’, उनले थपे, ‘झोला बोकेर बजार जानु भन्दा कौशीमै तरकारी लगाउने वातावरण सिर्जना गर्नुहोस् ।’

प्रधानमन्त्री ओलीले वृक्षारोपण मात्रै गरेर छाड्ने प्रवृति अन्त्य गर्न समेत आग्रह गरे । आफुले रोपेको वृक्षको जिम्मा लिन उनले आव्हान गरे । काठमाडौं उपत्यकामा कोटेश्वरदेखि सातदोबाटो, बल्खु हुँदै कलंकीसम्म एकसाथ ३२ सय विरुवा रोप्ने सरकारी तयारी छ ।

सरकारले तत्कालीन नेकपा (एमाले)का महासचिव तथा जननेता मदन भण्डारीको जन्मदिनको अवसर पारेर असार १४ लाई राष्ट्रिय वृक्षारोपण दिवस र आर्थिक वर्ष २०७६ ७७ लाई राष्ट्रिय वृक्षारोपण वर्ष घोषणा गरेको छ । वृक्षारोपण वर्षमा सरकारले कम्तीमा पाँच करोड विरुवा रोप्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति: १४ असार २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्