धान खेतमा हाँस पालन यसरी गर्न्रहाेस (सम्पूर्ण जानकारीसहित)


 


काठमाडौं धान खेतमा हाँस पालन एक एकिकृत खेती प्रविधि हो । साना कृषकहरुले कम लागतमा प्रांगारिक धान उत्पादन गर्न यो उपयुक्त प्रविधि हो । विश्वका विभिन्न मुलुकहरु जस्तै जापान, बंगलादेश, फिलिपिन्स, भियतनाममा धान खेतमा हाँस पालन एक सफल खेती प्रविधिको रुपमा लिइन्छ ।

नेपालमा हालसम्म यस बिषयमा कुनै पनि अनुसन्धान र परिक्षणहरु भएको पाइदैन । तर नेपालका केहि स्थान र समुदायमा घर वरपर सानो संख्यामा हाँस पालन गर्ने परम्परा रहेको पाईन्छ ।

नेपालको तराईका जिल्लाहरुमा यस किसिमको खेती प्रविधिको राम्रो सम्भावना रहको छ । हाँस पालन गर्ने समुदायको लागि यस किसिमको एकिकृत खेती प्रविधि अझ उपयुक्त हुन्छ ।

साना किसानहरुको लागि यो प्रविधि उपयुक्त हुने हुनाले प्हिला एक कठ्ठा जग्गामा खेती सुरु गरि त्यसपछि व्यवसायिक रुपमा बढि जग्गामा गर्न सकिन्छ ।

प्राक्टिकल एक्शनद्वारा चितवन जिल्लामा पहिलो पटक गरिएको धान खेतमा हाँस पालन सम्बन्धि परियोजनाले नेपालमा पनि यस किसिमको खेती प्रविधि सामाजिक, आर्थिक र वातावरणीय हिसाबले सफल हुने पुष्टि गरेको छ ।

धान खेतमा हाँस पालन कसरी गर्ने ?

धान खेती सँगै हाँस पालन गर्न विभिन्न कुराहरुमा ध्यान दिनुपर्छ र सोहि अनुसार पूर्व तयारीहरु पनि गर्नुपर्छ । यस किसिमको खेती प्रविधिमा अलिकति बढि मेहेनत लागेपनि धेरै फाइदा हुन्छ । विशेषगरि धान खेतको व्यवस्थापन, हाँसको व्यवस्थापन र धानबालीमा हाँस छोड्दा रेखदेख र निरिक्षण कार्यमा ध्यान पुर्याउनुपर्छ ।

धान खेतको व्यवस्थापनः

यस खेती प्रविधिको लागि सबै भन्दा पहिला उपयुक्त जग्गा र धानको जात छनौट गनुपर्छ । धान खेतको व्यवस्थापन महत्वपूर्ण हुने भएकोले त्यसको व्यवस्थापनको लागि निम्न कुराहरुमा ध्यान पुर्याउनु पर्दछ ।

रासायनिक मल तथा विषादिका प्रयोग नगर्नेः

धान खेतमा कुनै पनि रासायनिक मल तथा विषादिको प्रयोग गर्नु हुँदैन । गोठे अथवा कम्पोष्ट मल हाल्न सकिन्छ ।
रासायनिक मल तथा विषादिको प्रयोगले हाँसलाई नोक्सान पुर्याउँछ र हाँसलाई चाहिने खानेकुरा पनि प्राप्त हुँदैन ।
धानमा कुनै रोगकीरा लागेमा प्राविधिकको सल्लाह अनुसार उपचार गराउनु पर्दछ ।
धानको जात छनौटः

यस खेती प्रविधिको लागि धानको जात छनौट गर्दा अग्लो, मोटो, गहिरो पानी सहन सक्ने र मिलेसम्म ढिलो पाक्ने जातहरु छनौट गर्नुपर्दछ ।
स्वर्णा सब–१, साँवामसुली, मकवानपुर–१, साबित्री, मन्सुली आदि धानका जात उपयुक्त हुन्छ ।
जग्गा छनौटः

धान खेतमा हाँस पालन गर्नको लागि सबैभन्दा पहिला उपयुक्त खेतको छनौट गर्नुपर्छ ।
यसको लागि दोमट चिम्ट्याइलो खालको अथवा पानी धारण गर्ने शक्ति भएको माटो बढि उपयुक्त हुन्छ ।
हाँस दिनभर धान खेतमा चर्ने भएकोले निरन्तर पानी लागिरहने खेत हुनुपर्छ ।
सकेसम्म घर वरपर रहेको खेत छनौट गर्नुपर्दछ ।

हाँसलाई खेतबाट बाहिर जान रोक्न तथा न्याउरी मुसा, वन बिरालो आदिबाट जोगाउन खेतको घेराबन्दी गर्नुपर्दछ ।
घेराबन्दी गर्नको लागि खेतको डिल चौडा र अग्लो बनाउनुको साथै डिलको चारैतिर ३–४ फिट अग्लो जाली लगाउन वा बारबन्देज गर्नुपर्दछ ।
बारबन्देजको लागि स्थानीय स्तरमा उपलव्ध हुने बाँस, पटुवा, नरकट, प्लाष्टिक, असुरोको डाँठ, खडाई, मकैको ढोड, काँस आदिको प्रयोग गर्दा सस्तो पर्न जान्छ ।

आफ्नो तरिका र सुविधा अनुसार खेतलाई राम्रोसँग हिल्याइ सम्याउनु पर्दछ ।
खेतमा रासायनिक मल तथा विषादिको प्रयोग नगरी तर सिफारिस गरिएको मात्रा अनुसार (१८ डोको प्रति कठ्ठा) गोठे अथवा कम्पोष्ट मल हाल्न सकिन्छ ।
तयारी खेतमा धान लाइनमा मिलाएर रोप्नु पर्दछ जसले गर्दा हाँसलाई खेतमा चर्न सजिलो हुन्छ र धानलाई पनि नोक्सान पुग्दैन ।
धान रोप्दा एक लाइन देखि अर्को लाइनको दुरी कम्तीमा ४० सेन्टिमिटर हुनुपर्दछ ।
बोट देखि बोटको दुरी कम्तीमा २५ सेन्टिमिटर फरक गर्नुपर्दछ ।
पानीको व्यवस्थापनः

हाँस दिनभर धान खेतमा चर्ने भएकोले पानीको निरन्तर व्यवस्थापन गरिरहन अत्यन्त आवश्यक छ ।

घमाइलो, सिंचाई तथा निकासको राम्रो व्यवस्था हुन सक्ने खालको खेत राम्रो हुन्छ ।

बाहिरबाट आउन सक्ने बाढी रोक्ने व्यवस्था मिलाउनु पर्दछ ।

धानको बाली कटानीः

धानको बाली पाकिसकेपछि कटानी गर्ने बेलामा अरु धान बाली जस्तै प्रकृयाबाट काट्न सकिन्छ ।

प्रकाशित मिति: १४ असार २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्