ट्रकभित्र महिलालाई जबरजस्ती करणी गर्ने उर्लाबारीका दुई जना पक्राउ


 


तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले महिलालाई ट्रकमा लिफ्ट दिएर जबरजस्ती करणी गर्ने चालक र सह–चालकलाई पक्राउ गरेको छ । उक्त घटनामा संलग्न ना १ क ४३४९ नम्बरको ट्रक चालक ३० वर्षीय विमल ढकाल र ३२ वर्षीय सह–चालक गोपाल भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु मोरङ उर्लाबारी नगरपालिका–६ सूर्यचोकका स्थानीय बासिन्दा हुन् ।

प्रहरीका अनुसार उनीहरुले विहीबार विहान १ः३० बजेको समयमा तनहुँको व्यास नगरपालिका–१२ छिर्कने स्थित पृथ्वीराजमार्ग सडक किनारमा ट्रक रोकेर जबरजस्ती करणी गरेका थिए । पीडित महिलालाई चालक र सह–चालक दुवैले जबरजस्ती करणी गरेको भन्ने सूचना प्राप्त भएपछि तनहुँ प्रहरीले ट्रकको खोजतलास गरेको थियो ।

उनीहरुलाई खोजतलासकै क्रममा व्यास–३ वीपी वनपाटीका चौरमा रोकेर ट्रकबाट रड (छड) अनलोड गरिरहेको समयमा प्रहरीले भेटाएको थियो । त्यसपछि घटनामा संलग्न रहेको आरोपमा चालक र सह–चालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको हो । साथै उनीहरुलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९९१० बमोजिम पक्राउ गरी पीडित र पीडकको स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।

पीडितबाट जाहेरी दर्ता गरी जबरजस्ती करणी मुद्दामा शुक्रबार तनहुँ जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले बताउनुभयो ।

गत बुधबार ना १ क ४३४९ नम्बरको ट्रक लिएर चालक र सह–चालक नवलपरासीबाट दमौलीसम्म आउँदै थिए । उनीहरुले ट्रकमा रड लोड गरेर दमौली आउने क्रममा नवलपुर स्थित डण्डाबाट एक जना महिलालाई लिफ्ट दिएर ल्याएका थिए ।

प्रकाशित मिति: १३ असार २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्