‘हिजो बधाईको ओइरो, आज कलेजको थेगिनसक्नु निम्तो’


 


काठमाडौं : लामो समय कमलरी बसेर बाल्यकाल बिताएकी शान्ता चौधरीले बिहीबार माध्यमिक शिक्षा एसइई पास गरिन्। एसइई पास गरेसँगै सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीकी सचेतक समेत रहेकी चौधरीले यो उमेरमा एसइई गर्छु भन्‍ने सोच्दै नसोचेको प्रतिक्रिया सामाजिक सञ्जालमा दिइन्।

एसइई पास हुनुलाई एउटी कमलरीको असम्भव सपना पूरा भएको बताएकी उनलाई बिहीबारदेखि नै बधाईको ओइरो लागेको छ। एसइई पास भएपछिको अनुभव उनले शुक्रबार सिंहदरबारमा पुगेका पत्रकारमाझ बाँडिन्।

शान्तालाई बिहीबारदेखि बधाई दिनेको ओइरो लागेको छ। तर, शुक्रबार (आज) देखि भने उच्च शिक्षाका लागि कलेजको निम्तो आउन थालेको छ। ‘हिजो बधाई दिनेको फोनले व्‍यस्त भइयो’, उनले सुनाइन्, ‘आजदेखि कलेजहरूले बोलाउन थालेका छन्।’

एसइई पास भएपछि शान्तको अनुभव

हिजो (बिहीबार) बधाई दिनेको फोनले व्यस्त भइयो। फोन उठाउँदै दिनभरी व्यस्त भएँ। प्रधानमन्त्री केपी शर्मा ओलीले क्याबिनेटबाटै मलाई फोन गर्नुभयो। मन्त्रीहरूलाई चकलेट बाँड्नुभयो भन्‍ने सुने। अभिनेत्री करिश्मा मानन्धरले पनि फोन गर्नुभएको थियो। उहाँले पास भएकोमा बधाई दिनु भयो। मैले पनि उहाँलाई बधाई दिएँ।

एसइई पास भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिँदै निम्तो नै गर्नुभएको छ। गृहजिल्ला दाङबाट पनि बधाई आइरहेको छ।

कलेजको निम्तो

आज बिहानैदेखि कलेजहरूले मेरोमा पढ्नुपर्यो भनेर फोन गरिरहेका छन्। उनीहरुलाई जवाफ दिँदै व्यस्त छु। धेरै कलेजहरूले मेरोमा पढ्नुपर्यो भनिरहेका छन्। कुन कलेजमा पढ्ने अहिले नै निश्चित गरिसकेकी छैन।

एसइई पास गरेपछि राजनीति शास्त्र र कानुन पढ्ने सोच बनाएकी छु। तर विषय निर्क्योल गरिसकेकी छैन। संसद र पार्टीको कामबाट कति समय निकाल्न सकिन्छ, त्यसको ख्याल गरेर पढ्ने निर्णय लिन्छु।

एसइई पास गरेपछि मेरा अगाडि सम्भावना र चुनौती दुवै छन्। ए वा बी प्लस आउँछ भन्‍ने लागेको थियो। हात दुख्‍ने गरेर लेखेकी थिएँ। कापी पनि थपी थपी लेखेकी हुँ।

मेरी छोरी बिनुको मेरो भन्दा केही बढी नम्बर आएको छ। छोरीले अस्तिदेखि नै ‘ममी मेरोभन्दा तपाईंको नम्बर कम आउनुपर्छ है’ भनिरहेकी थिइन्। आमाको जत्ति पनि नम्बर नल्याउने छोरी भन्छन् भनेर छोरी गुनासो गरिरहेकी थिइन्।

एकैपटक कक्षा ८ मा नाम लेखाएकी हुँ। मसँगै केही महिलाले पनि पढ्नुभएको थियो। उहाँहरूको पनि राम्रै भएको छ। मेरो शिक्षा विषयमा सबैभन्दा बढी नम्बर आएको छ। अंग्रेजीमा पनि राम्रो नम्बर आएको छ। छोरी नर्सिङ पढ्छु भनिरहेकी छन्। उसलाई जे मन लाग्छ त्यही पढून्।

प्रकाशित मिति: १३ असार २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्