एसइइको नतिजा बिहीबार आउने निश्चित


 


काठमाण्डौँ, असार ११

परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसइइ) को नतिजा बुधबार प्रकाशन नहुने स्पष्ट पारेको छ । पुनः परीक्षणमा केही समय लागेकाले बोर्ड बैठक बस्न र नतिजा सार्वजनिक पर धकेलिएको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले बताए ।

कार्यालयले नतिजा प्रकाशनकोलागि बिहीबार दिउँसो १ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाएको छ । ‘सबै तयारी सकिएको छ, नतिजामा विगतमा झैँ त्रुटि नदोहोर्ऊन् भनेर पुनः परीक्षणलाई जोड दिएका हौँ,’ उपनियन्त्रक शर्माले भने ।

पुनः परीक्षणका क्रममा प्राविधिक त्रुटिहरु बढी देखिएकाले नतिजा प्रकाशन पर धकेलिएको उनले बताए । साधारणतया बोर्ड बैठक बसेपछि लगत्तै नतिजा प्रकाशन हँुदै आएको छ । अन्य कुनै प्राविधिक कारण या बोर्डले फरक निर्णय नगरे बिहीबार नतिजा प्रकाशन हुने उपनियन्त्रक शर्माले बताए ।

देशभर एकैसाथ १० चैतदेखि २१ गतेसम्म परीक्षा सञ्चालन भएको थियो । प्रदेश–२ मा भने चैत्र २२ देखि २९ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । यसवर्ष सातै प्रदेशबाट नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ र विगतको आंशिक गरी जम्मा चार लाख ७५ हजार परीक्षार्थी सहभागी छन् ।

छात्रा दुई लाख ३८ हजार पाँच सय ५८ र छात्र दुई लाख ३६ हजार चार सय छन् । यी मध्ये सामुदायिक विद्यालयबाट तीन लाख ४० हजार एक सय ९६ र निजीबाट एक लाख ३४ हजार आठ सय सहभागी छन् ।

प्रकाशित मिति: ११ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्