ललितानिवास जग्गा प्रकरणमा अख्तियारले ८६ जनालाई बोलायो


 


काठमाण्डौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवासभित्र पर्ने बालुवाटार जग्गा किनबेच प्रकरणका सम्बन्धमा बयानका ८६ जनालाई सूचना जारी गरी बोलाएको छ ।

अख्तियारले बुधबार सूचना जारी गरी बयानका लागि नातिकाजी महर्जनसहित ८६ जनालाई बोलाएको छ । अख्तियारद्वारा जारी सूचनामा उनीहरूलाई सात दिनभित्र आयोगमा हाजिर हुन भनिएको छ । सूचनामा उनीहरूलाई सात दिनभित्र बयानका लागि उपस्थित नभएमा कानुनबमोजिम हुने पनि उल्लेख छ ।

बयानका लागि बोलाइएका ८६ जनामा ‘भूमाफिया’ भनिएका डा. शोभाकान्त ढकाल र रामप्रसाद सुवेदी र भाटभटेनीका सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङको नाम भने उल्लेख छैन । तर, अख्तियारद्वारा जारी सूचनामा ढकालकी श्रीमती लक्ष्मी ढकाल, सुवेदीकी श्रीमती माधवी सुवेदी र भाटभटेनीका सञ्चालक गुरुङका छोरा कल्याण गुरुङलाई चाहिँ उपस्थित हुन भनिएको छ । अख्तियारद्वारा जारी सूचनामा ८६ जनाकै नाम र कित्ता नम्बर उल्लेख छ ।

प्रकाशित मिति: ११ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्