नियम मिच्ने गृहका हाकिमले प्रहरीको जागिर खाइदिने धम्कीदिएपछि


 


काठमाडौं । जागिर खाने मन छ कि छैन ?– गृहका हाकिम । सिपाहीको जागिर हो, जहाँ गएपनि आखिर जागिर नै खाने हो– ट्राफिक प्रहरीयो संवाद बुधबार विहान सिंहदरबारको पूर्वी गेट अगाडिको हो । गृह मन्त्रालयको बा २ झ ३४६ र बा २ झ ४३८८ नम्बरको जीपहरु पूर्वी गेट अगाडिको मुख्य सडक छेऊमा रोकिएको थियो । दुईवटा जीप सडकछेऊ निषेधित क्षेत्रमा पार्किङ गरेका कारण यातायात आवागमनमा अवरोध भइरहेको थियो ।

मोटरसाइकलमा दुईजना प्रहरी आएर पार्किङ निषेध क्षेत्रमा रोकिएको दुवै जीपमा लक गरे । सरकारी नम्बर प्लेटको गाडीमा लक गरेपछि गृहका दुई अधिकारी र चालक समेत आएर ट्राफिकलाई धम्क्याउन थाले । दौरा सुरुवालमा चट्ट सजिएका गृहका हाकिमले नियम मिचेर राखेको गाडीलाई छुटाउन प्रहरीलाई निकै दबाब दिए ।

विहान राष्ट्रियसभागृहमा गृह मन्त्रालयको आयोजनामा भएको लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा सहभागी भएर अनामनगरमा गृहका ती अधिकृत खाना पुगेका थिए उनीहरु । खान निषेधित क्षेत्रमा पार्किङ गर्न उनैले लगाएका थिए ।

हाकिमको आदेश अनुसार चालकले गाडी पार्किङ गरेका थिए । प्रहरीले गाडीले नियम उल्लंघन गरेको भन्दै कारबाहीको अडान राखिरहे ।
प्रहरीले सालिन र शिष्ट भाषामा जवाफ दिइरहँदा गृहका कर्मचारी निरन्तर धम्क्याइरहेका थिए । तर, प्रहरी धम्कीबाट डराएनन् । एकजनाले आफ्ना कमाण्डरलाई घटनाबारे जानकारी गराए । उताबाट नियम उल्लंघन गर्नेलाई नछाड्न निर्देशन आयो ।

गृहका अधिकृतले लक खोल्न भन्दा प्रहरीले मानेनन् । निकैबेर दबाब दिंदा पनि नमानेपछि चालकले लाइसेन्स दिए । बल्ल प्रहरीले दुवै गाडीको लक खोलिदिए । गृहका अधिकृतसहित दुई कर्मचारी गाडीमा चढे । उनीहरु कार्यालयतर्फ लागे ।

सानालाई ऐन ठूलालाई चैनको गुनासाहरु बढिरहँदा नेपाल प्रहरीले मङ्गलबार सबैलाई ऐनको व्यवहार देखायो । शक्ति र पहुँच हुँदैमा जसले जे गर्ने पनि छुट हुँदैन । राज्यको नीतिनियम र कानुन सबैले मान्नुपर्छ । मङ्गलबार दुईजना निडर प्रहरीले कर्तव्य पालनाको वास्तविक परिचय दिए । घटनाका प्रत्यक्षदर्शीले प्रहरीहरुको वाही वाही गरे ।

प्रकाशित मिति: ११ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्