भारतीय बाँधका कारण सयौं घर डुबानमा


 


नेपालगञ्ज । भारतले अन्तर्राष्ट्रिय नियम विपरित बनाएका बाँध र तटबन्धले बाँकेको नरैनापुरका अधिकांश गाउँ डुबानमा परेका छन् । शनिवारदेखिको वर्षाले आइतबार समेत निरन्तरता पाएपछि सयौं घर डुबानमा परेका छन् । नरैनापुर गाउँपालिकाका भारतीय सीमावर्ती क्षेत्र डुबानमा परेका हुन् ।

अन्तर्राष्ट्रिय कानुन विपरित भारतले पानीको निकाश बन्दहुनेगरी सडक निर्माण गरेको र बाँध पनि नियमविपरित निर्माण गरेकाले त्यसको असर नेपाली गाउँमा पर्न थालेको छ । सयौं घरपरिवार बाढीका कारण बिस्थापित भएका छन् ।

बाढीका कारण बनियाँ गाउँ, महतनियाँ, मियाँपूर्वा, महादेवनगर, कोटिहा, रोशनपूर्वा, मझेरटी, घोरदौरिया लगायतका गाउँ डुबानमा परेका छन् । गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहले बाढी पीडितको उद्धार तथा राहतमा समेत समस्या भएको जानकारी दिए ।

हरेक वर्ष वर्षायाममा बाँकेमा भारतीय बाँध तथा तटबन्धका कारण डुबान हुने गरेको छ । यस पटक मनसुनको शुरुवातमै डुबानमा परेकाले स्थानीय चिन्तित बनेका छन् । बाढीबाट प्रभावितलाई विद्यालयमा राखिएको छ ।

प्रकाशित मिति: ९ असार २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्