सङ्खुवासभामा पहिरोका कारण २८ परिवार विस्थापित


 


संखुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–५ मा पहिरोका कारण २८ परिवार विस्थापित भएका छन्। गएको साता मुसलधारे पानीपछि पहिरो जाँदा उनीहरु विस्थापित भएको स्थानीयवासी मक्करध्वज राईले बताए।

“पहिरोले अन्नबाली र अलैँची सखाप पारेको छ”, उहाँले भन्नुभयो, “पीडित परिवार उद्धारको पर्खाइमा छन्।” घरमा बस्न सक्ने अवस्था नहुँदा विस्थापित परिवार नजीकैको खुला ठाउँमा बसेका छन् । घरमा भएको अन्नपात सकिएपछि उनीहरुलाई के खाने भन्ने चिन्ता परेको राईले बताए।

स्थानीयवासी शैलेन्द्र राई पहिरोका कारण बाटोघाटो भन्द भएको बताउँछन्। खानेपानीको मुहानसमेत पहिरोले बगाएको छ। ‘आकाशेपानी सङ्कलन गरेर पिउने गरेका छौँ”, उनले भने। पेपुवाबाट मकालु गाउँपालिकाको केन्द्रसम्म पुग्न सात घण्टा लाग्छ। उनीहरु किनमेल गर्न नुम र हेदाना बजार पुग्न सकिरहेका छैनन्।

पहिरो पीडितका लागि मकालु गाउँपालिकाले राहत सामग्री सदरमुकाम खाँदबारीमा तयारी अवस्थामा राखेको प्रजिअ जीवनप्रसाद दुलालले बताए। गाउँपालिकाले विस्थापितका लागि चामल ११७ बोरा, दाल १२ बोरा, एक सय किलो नुन, पाइप, पानी राख्ने ट्याङ्की र ७४ त्रिपाल खरीद गरेको छ। “मौसमका कारण उद्धार र राहत उपलब्ध गराउन समस्या भएको हो”, उनले भने। रासस

प्रकाशित मिति: ९ असार २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्