तालिम लिएपनि त्यसलाई प्रयोगमा ल्याउन नसक्दा प्रभावकारी हुन सकेन : मेयर फागो


 


उर्लाबारी, असार ८

उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले राज्यको लक्ष्य अनुसार तालिमलाई प्रभावकारी बनाउन नसकिएको बताउनुभएको छ ।
तालिम लिएपनि त्यसलाई प्रयोगमा ल्याउन नसक्दा प्रभावकारी हुन नसकेको मेयर फागोले बताउनुभयो ।

आज उर्लाबारी – ६ स्थित महारुद्र शिवालय मन्दिरमा अयाोजित ढाका कपडा बुनाई तथा सिलाई कटाई तालिमको समापन कार्यक्रममा बोल्दै उहाँले तालिम सिकेका कुरालाई व्यवहारमा उतार्न सकेमात्र व्यवसायिक बन्न सकिने बताउनुभयो । मेयर फागोले व्यवसायको प्रमाणपत्र दर्ता गराउने तर राज्यको अनुदान अन्य क्षेत्रमा परिचालन गर्ने प्रबृत्तिका कारण पनि घरेलु उद्योग फस्टाउन नसकेको बताउनुभयो ।

उहाँले नगरपालिकाले सबै क्षेत्रसँगको छलफलमा आगामी आर्थिक वर्षको बजेट निर्माण गर्ने पनि जानकारी दिनुभयो । उपमेयर लक्ष्मीदेवी भण्डारीले तालिममा संख्यात्मक भन्दा गुणात्मक कुरालाई जोड दिनुपर्ने बताउनुभयो । उहाँले तालिममा सिकेका कुराबाट व्यवसाय सञ्चालन गर्दै आत्मनिर्भर बनेमात्र समृद्ध उर्लाबारी बन्ने बताउनुभयो ।

उर्लाबारीको शान, ढाकाको तान भन्ने नारालाई आत्मसाथ गर्दै सबै महिलाहरुले ढाका कपडा बुनाईलाई व्यवसायिक रुपमा संचालन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा उर्लाबारी वडा नं. ६ का अध्यक्ष चिन्तामणी पौडेल, घरेलु तथा साना उद्योग कार्यालय विराटनगरका गोकुल केसी, अशोक राई लगायतले शूभकामना मन्तव्य राख्नुभएको थियो ।

घरेलु तथा साना उद्योग कार्यालय विराटनगरको आयोजना र उर्लाबारी नगरपालिकाको समन्वयमा तीन महिने ढाका कपडा बुनाई तालिम तथा उर्लाबारी नगरपालिकाको आयोजनामा ६० दिने सिलाई कटाई तालिम आयोजना गरिएको हो । उर्लाबारी – ७ कि निरु चौहान र शिक्षा चौहानले ढाका कपडा बुनाई तालिमको प्रशिक्षण दिनुभएको थियो ।

प्रकाशित मिति: ८ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्