उपप्रमुखले नै गरिन ‘नगरपालिकामा तोडफोड’


 


महोत्तरी जिल्लाको औरही नगरपालिकाकी उपप्रमुख रेणु झाले आफ्नै कार्यालयमा तोडफोड गरेकी छिन् ।

आइतबार राति उपप्रमुख झाको नेतृत्वमा गएको एक टोलीले नगरपालिकाको कार्यालयमा रहेको योजना शाखा तथा प्रशासन फाँटमा गरी दुई थान कम्प्युटर, दुई थान स्क्यान मेसिन, दुई थान प्रिन्टर, दुई थान मल्टिप्लग बोर्डमा तोडफोड गरेको हो ।

इलाका प्रहरी कार्यालय गौशालाले दिएको जानकारी अनुसार शनिबार साँझको समयमा कार्यालयमा कामकाज मनपर्दी रुपमा गर्दै आएको विरोधमा उपमेयर रेणु झाको नेतृत्वको टोलीले कार्यालयमा तोडफोड गरेको हो ।

अन्य दिन कार्यालयमा उपस्थित नहुने कर्मचारी शनिबार काम गरेको भन्दै सोधपुछ गर्न खोज्दा विवादले उग्ररुप लिएको प्रहरी निरीक्षक किशोर आचार्यले बताए ।

यता नगरप्रमुख सुनिलकुमार यादवले भने कामको चापले गर्दा शनिबार पनि काम गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।

असार मसान्तको समयमा पनि कार्यालयमा नियमितरूपमा कर्मचारी नआएपछि नगरपालिकामा योजनाअनुसारको कामकाज समयमै सम्पन्न हुन नसकेको स्थानीयवासीले प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति: ८ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्