ओलीले अब यस्ता मन्त्री छान्दै ,न बुहारी राखिने, न विश्वासपात्र !


 


काठमाडौं, प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सरकार पुनर्गठनका सम्बन्धमा सहमति भएको छ ।

मन्त्रीहरूकै कार्य सम्पादन र मुल्यांकनका आधारमा प्रधानमन्त्री ओलीले सरकारमा मन्त्री हेरफेरको तयारी गरेका हुन् । यस विषयमा परामर्श भएको र केही दिनमा नै सरकार पुनर्गठन हुने अध्यक्ष प्रचण्डले खुलाए ।

पूर्वएमाले र पूर्वमाओवादीको भागवन्डाका आधारमा मन्त्रीहरूको नियुक्ति गरिएको थियो । अब, सरकारमा अध्यक्ष ओली र प्रचण्डले पार्टी एकीकरणमा गरेको अनुपातकै आधारमा नेकपाको मन्त्रीमण्डल पुनर्गठन गर्नेछन् । यस विषयमा बुधबार बालुवाटारमा दुई अध्यक्षबीच सहमति भइसकेको छ ।

विवाद निम्त्याउनेलाई हटाइने

मन्त्रीको उचित कार्य सम्पादन नभएका कारण सरकारको आलोचना बढेको ठहर गरेका दुई अध्यक्षले विवाद निम्त्याउने मन्त्रीलाई हटाउन सक्ने आँकलन गरिएको छ ।

निर्मला पन्त हत्या अनुसन्धानमा असफल, विप्लव नेकपाको गतिविधि नियन्त्रणमा असफल तथा राजधानीमै उसको विस्फोटक प्रभाव नियन्त्रणमा ध्यान नदिएको भन्दै गृहमन्त्री रामबहादुर थापा बादललाई हटाउने तयारी हुन सक्छ । उनको ठाउँमा त्यति विवादमा नआएका तर उर्जा मन्त्रालय सम्हालिरहेका बर्षमान पुनलाई सार्न सकिनेछ । सरकार गठनका बेला पुनले गृह मन्त्रालय नै रोजेका थिए । तर, बादलको दाबीका कारण उक्त पदमा पुन पुगेनन् । गृह मन्त्री प्रचण्डको सिफारिसका आधारमा हुने भएकाले केही समयदेखि राजनीतिक रूपमा पनि प्रचण्डसँग टाढिएका कारण बादल हट्न सक्छन् ।

यता, अर्थमन्त्री युवराज खतिवडा प्रधानमन्त्री ओलीका विश्वास पात्र भए पनि उनलाई स्थानान्तरण गर्ने तयारी भएको छ । अर्थ मन्त्रालयमा भने उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई लग्न सकिने उच्च स्रोतले जनायो । पोखरेल सरकार गठनका बेला अर्थ मन्त्रालयमा जाने निश्चित जस्तो थियो तर प्रधानमन्त्री ओलीले विज्ञताका आधारलाई मानक मान्दै खतिवडालाई उक्त पदमा नियुक्त गरेका थिए ।

प्रधानमन्त्री ओलीले विवाद समाधान गर्नुको साटो सरकारलाई अप्ठेरोमा पार्न खोज्ने यातायात मन्त्री रघुवीर महासेठलाई मन्त्री पदबाटै हटाउन सक्नेछन् । उनी विभिन्न सिन्डिकेट तोड्ने नामको विवादमा मुछिएका थिए । उनले अपेक्षाअनुसार काम नगरेको मुल्यांकन प्रधानमन्त्रीले गरेका छन् ।

यता, लगानी सम्मेलनका क्रममा अंग्रेजी भाषामा बोल्दा सरकारको बेइज्जत गरेका, कार्यालयमा लफडा गरिरहने उद्योग मन्त्री मात्रीका यादवलाई पनि हटाउने सन्दर्भमा प्रधानमन्त्री ओलीले प्रचण्डसँग परामर्श गरेको स्रोतको दाबी छ ।

गुठी विधेयक प्रकरणले सरकारको तिव्र आलोचनामात्र होइन, काठमाडौंका जनतालाई नै सरकारविरोधीका रूपमा उभिन भड्किलो विधेयक ल्याउने भूमी सुधार मन्त्री पद्मा अर्याललाई अर्को मन्त्रालयमा सार्ने तयारी भएको छ भने, सञ्चारमन्त्री गोकुल बास्कोटालाई जिम्मेवारीबाट हटाएर उनको ठाउँमा नयाँ अनुहार ल्याउने अभ्यास जारी रहेको बताइन्छ ।

यता, मेलम्ची प्रकरणमा सरकार गठन भएका बेलादेखि नै विवादमा आएको, खानेपानी मन्त्रालयमा कर्मचारी सरुवा, सचिव हेरफेर र काठमाडौं उपत्यका खानेपानी लिमिटेडलगायतका प्रकरणमा मुछिएकी मन्त्री बिना मगरलाई हटाउने तयारी भएको छ । मगर, प्रचण्डकी बुहारी भएकै कारणले प्रभावमा मन्त्री पद पाएको भन्ने आलोचना प्रचण्डले खेपीरहेका छन् । उनलाई उक्त पदबाट हटाउने तयारी प्रचण्डले आफैं गरेका छन् । उनलाई अर्को मन्त्रालयमा पनि स्थानान्तरण नगरिने बालुवाटार स्रोतले जनायो ।

प्रकाशित मिति: ६ असार २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्