सरकार कागजको खेलौना होइन, म मैदानबाटै आएको हुँ मैदान छु प्रधानमन्त्री ओली


 


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही खेलो फड्को गर्ने मान्छेले गुठी विधेयकलाई लिएर समस्या सिर्जना गर्न खोजेको आरोप लगाएका छन् । बुधबार राति नेपाल टेलिभिजनबाट प्रसारण हुने नियमित कार्यक्रम जनतासँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उनले कानुन सडकले बनाउने नभइ संसद्ले बनाउने उल्लेख गर्दै सडकबाट कानुन बनाउने नजिर अब नबस्ने पनि जनाए ।

उनले जनतालाई खुन खराबामा उतार्ने र आफ्नो स्वार्थको रोटी सेक्ने अनेकथरी तत्वहरु देखिएको जनाउँदै उनीहरुलाई भ्रम परेको जनाए । उनले देशका विभिन्न निकाय पारदर्शी हुनुपर्ने तर गुठीका विषय मात्रै सार्वजनिक गर्न नहुने भन्ने कुरा नमिल्ने बताउँदै यो गुठीको समस्या नभइ केही गुठीयारको समस्या भएको बताए ।

अहिले फेरि विधेयकलाई खारेज कि फिर्ता भन्ने शब्दको खेल शुरु भएको चर्चा गर्दै प्रधानमन्त्रीले खारेज भनेको मौजुदा केही कुरा छ भने मात्रै खारेज हुने जनाए । अहिले एक हिसाबले फिर्ता भएको र प्रक्रिया पुर्याउनका लागि मन्त्रीले संसद्मा स्वीकृति लिनुपर्ने प्रक्रिया बाँकी रहेको समेत जनाए । उनले अहिले भइरहेको चर्चा जनता अल्मल्याउने शब्दजाल भएको बताए ।

उनले एक प्रसंगमा यो सरकार कागजको खेलौना हो गइहाल्छ भने झैं चर्चा गर्ने गरिएको र त्यो देखेर आफूलाई ताजुब लागेको बताउँदै यो सरकार विधिवत जनताको अभिमतबाट आएकोले केही नहुने जनाए । उनले आफूले यसअघिको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर चुनाव जितेको चर्चा गर्दै केपी ओली अलोकप्रिय भएपनि धैर्य गर्न र अस्थिरता ल्याउने तत्व नसल्बलाए हुन्छ भन्ने सुझाव दिएका छन् ।

उनले आफू म्युजिकल चेयरमा जस्तो टसक्क कुर्सीमा बस्न नआएको जनाउँदै मैदानबाटै आएको र मैदानबारे आफूलाई थाहा भएको जनाए । आफू चिन्ताग्रस्त हुने कुनै कुरा नभएको, पहिला जेलमा हुँदा त नभएको अहिले दुई तिहाइको सरकार चलाउँदा चिन्ताग्रस्त हुने कुरै नभएको बताए ।

संसदमा विपक्षीको मुख थुन्ने प्रयास भएको भन्ने आरोपको खण्डन गर्दै प्रधानमन्त्री ओलीले त्यो भन्दा वाहियात र अनर्गल कुरा के हुन्छ भन्ने प्रश्न उठाएका छन् ।

उनले आफूले संसद्मा बोल्नका लागि तीन दिनअघि नै सभामुखलाई भनेको, संसद चलेको बेलामा प्रधानमन्त्रीलाई बोल्न दिने चलन संसारभरी भएको र भ्रमको पर्दा आफू बोल्नासाथ हट्ने भएकोले विपक्षीमा आतंक देखिएको जनाएका छन् । प्रधानमन्त्रीपछि विपक्षी दलको नेता बोल्ने संसारभरीकै चलन भएको समेत प्रधानमन्त्रीले बताएका छन् ।

कांग्रेसका नेताहरुले आफूमात्रै मर्यादित हुनुपर्ने भनेझैं गरेको चर्चा गर्दै आफू पदमा भए त्यो पदको गरिमा हुने अरु हुँदा नहुने जस्तो गरिएको आरोप लगाए । ‘उहाँहरु एकैपटक बोल्नु भएको थियो कहाँ मुख थुनियो’ भन्ने प्रश्न उनले उठाएका छन् । उनले प्रधानमन्त्री बोल्न लाग्दा वेल घेर्ने शर्मनाक घटना नेपालमा गरिएको समेत जनाए ।
उनले सडकमा देखिएका गतिविधिले देशलाई अघि बढाउन मद्धत नगर्ने जनाउँदै आफू शासनमा नहुँदा केही तत्व छटपटाएको समेत प्रधानमन्त्रीले आरोप लगाएका छन् । तर जति छटपटाएपनि केही नहुने समेत उनले बताए ।

उनले विपक्षी नेता बोल्दा संसदमा प्रधानमन्त्री नगएको बारेमा मर्यादाको कुरा उठाएको प्रसंगमा आफू बोलेको बेलामा पनि देउवा कहिले सानेपा, कहिले महाराजगञ्ज र कहिले संसदीय दलको कार्यालयमा जाने गरेको आफूले बरु खबर गर्ने गरेको प्रधानमन्त्रीले बताएका छन् । प्रधानमन्त्रीको प्रश्न थियो, ‘‘उहाँले बोल्ने भनेर जानकारी गराउनु भएको थियो ? ’’

केही विधेयकहरु पास गर्न नदिने विपक्षी नेताले बताएको प्रसंगमा प्रधानमन्त्रीले उहाँले सकेदेखि लोकतन्त्रै चल्न नदिने र बुझाउने गरेको इतिहास भएको बताउँदै तर यसपालि उहाँको बुँताले नचल्ने समेत बताए ।

उनले आफ्नो युरोप भ्रमण अत्यन्त सफल भएको दाबी गर्दै देशको समस्या छल्न विदेश गएको भन्नु निम्छरा टिप्पणी भएको जनाए । तारानाथ शर्माले ‘बेलायततिर बरालिँदा’ भन्ने पुस्तक लेख्नुभएकोले कतिपयलाई बेलायत गएपछि बरालिन नै गएको भन्ने लागेको जनाउँदै उनले बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बींड जस्तो भएको समेत जनाए ।

प्रकाशित मिति: ५ असार २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्