प्रचण्ड पोखरा पुगेर गरे ओली सरकार र मन्त्रीहरुको यस्तो भविष्यवाणी


 


पोखरा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीमण्डल पुनर्गठन गर्ने विषयमा छलफल भएको बताएका छन्। बजेटपछि पुनर्गठन गर्ने विषयमा प्रधानमन्त्री केपी ओलीसँग गम्भीर रुपमा छलफल भइरहेको भन्दै उनले यसको सम्पूर्ण अधिकार प्रधानमन्त्रीलाई दिइएको बताए।

त्यस्तै उनले पार्टी एकताका लागि यसअघि भएका सहमति र सम्झौता बिपरित जाने छुट कसैलाई नभएको स्पष्ट पारे। प्रेस संगठन नेपालले कास्कीले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले जनताको जनादेशकै कारण पार्टी एकता भएको भन्दै एकताका बेला भएका सहमति र सम्झौता कार्यान्वयन हुनुपर्ने बताएका हुन्।

उनले पार्टी एकता र सरकारको कामलाई प्रभावकारी रुपमा अघि बढाएर लैजाने बारेमा पनि आफूहरु गम्भीर भएको बताए। पार्टी र सरकार सञ्चालनका लागि भएको सहमति पुरानो भएको भन्दै अहिले नै सरकारको नेतृत्वको सम्भावना नरहेको उनले बताए। उनले भने, ‘पार्टी र सरकार सञ्चालनका लागि भएका सहमति निकै अघि नै सार्वजनिक भएको हो, अहिले नै त्यो विषयलाई चर्चा र विवादमा ल्याउन कोही न कोही खेलिरहेको छ।’

उनले ओली नेतृत्वको सरकार पाँच वर्ष नै चल्न सक्ने अभिव्यक्तिलाई बङ्ग्याइएको बताए। ‘अहिले हामी छलफलमा नै छौ। पार्टीलाई मिलाउने प्रक्रिया महान् हो, यसलाई सफल पार्ने कुरा मुलुकलाई सफलतामा अघि बढाउने कुरासँग जोडिएको छ’ उनले भने।

त्यस्तै उनले विप्लव समूह राजनीतिक प्रक्रियामा आउनुको बिकल्प नरहेको स्पष्ट पारे। फरक प्रसङ्गमा उनले गुठी विधेयकका बारेमा जनताको असन्तुष्टि देखा परेपछि फिर्ता लिइएको भन्दै भने, ‘गुठी सम्बन्धित विधेयकमा नयाँ शिराबाट अघि बढ्छ। सबै गुठीहरु एकै प्रकृतिका छैन, सबै समस्याको हल हुने गरी विधेयक आउछ।’

प्रचण्डले विधेयकहरुबारे रहेका प्रावधानहरुका बारेमा जनतालाई बुझाउन नसकिएको स्वीकार गरे। उनले भने, ‘विधेयक निर्माणका बेला सरोकारवालाहरु र पार्टी तथा सरकारभित्र पनि सँग छलफल र गृहकार्य नभएका कारण विवादमा आएको हो, अन्य विधेयकहरु पनि संसदीय प्रक्रियाबाटै परिमार्जन र संशोधन भएर अघि आउछ।’

प्रकाशित मिति: ५ असार २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्